कर्णाली प्रदेश सभाको सभामुखमा प्रदेशसभा सदस्य नन्दा गुरुङ निर्वाचित भएकी छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा मत विभाजनमाबाट नेकपा एमालेकी प्रदेशसभा सदस्य गुरुङ सभामुखमा निर्वाचित भएकी हुन् । कुल ४० जना प्रदेशसभा सदस्यमध्ये ३८ जनाले मत विभाजनमा सहभागिता जनाएकोमा उनको पक्षमा २४ सदस्यले मत दिएका छन् ।
उनको विपक्षमा १४ मतमात्रै परेको थियो । जसमा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० र राष्ट्रिय प्रजातन्त्र पार्टीका एकजना रहेका छन् । उनी प्रदेशसभाको पहिलो महिला सभामुख बनेकी छन् । अघिल्लो कार्यकालमा सातै प्रदेशको सभामुखमा पुरुष थिए भने यस पटक पनि अहिलेसम्म महिला सभामुखमा निर्वाचित हुने उनी मात्रै हुन् ।
यस्तै नवनिर्वाचित सभामुख गुरुङले आइतबार नै पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् । सपथ ग्रहणपछि कार्यकक्षमा पुगेर कार्यभारपनि सम्हालेकी छन् । वि.सं २०२३ साल फागुन २ गते दैलेखको नारायण नगरपालिका–७ नयाँगाउँमा जन्मिएकी गुरुङको परिवार बसाइँ सरेपछि बाल्यकाल भने बर्दियाको बढैयाताल गाउँपालिकामा बित्यो ।
दाइहरू राजनीतिमा आबद्ध भएकाले उनमा सानैदेखि राजनीतिक चेतना थियो । दाइहरूकै प्रभावले २०४६ अघि प्रतिबन्धित अवस्थामा अनेरास्ववियु छैठौँमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गरेकी गुरुङले २०४६ पछि नेकपा एमालेको राजनीति सुरु गरेकी हुन् । उनी २०५४ सालको स्थानीय तह निर्वाचनमा साविक उत्तरगंगा गाविसको वडा नं. ४ को सदस्यमा निर्वाचित भएकी थिइन् । उनी एमाले पार्टीको प्रारम्भिक कमिटिदेखि आबद्ध हुँदै तीन कार्यकाल जिल्ला कमिटि सदस्यका रूपमा काम गरेकी थिइन् ।
अहिले प्रदेश कमिटी सदस्य छन् । साथै अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला अध्यक्ष रहेकी छन् । उनले एमालेकै भातृ संगठन युवा संघमा पनि काम गरेकी थिइन् । २०६५ मा एसएलसी वीरेन्द्रनगर १२ मा रहेको अमर ज्योति माध्यमिक विद्यालयमा खुला शिक्षातर्फबाट एसएलसी उत्तीर्ण गरेकी उनले जनमाध्यमिक विद्यालयबाट प्रवीणता तह र शिक्षा क्याम्पस सुर्खेतबाट स्नातक तह अध्ययन पूरा गरेकी छन् ।
उनका पतिको २०५४ सालमा निधन भएको थियो । दुई छोरी र एक छोरा छन् । उनी एकल महिला तथा महिलाहरुको हक हितका लागि काम गर्दै आएको एकल महिला समूहमा पनि लामो समयदेखि आबद्ध छिन् । हाल सुर्खेत जिल्लाको कोषाध्यक्ष हुन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !