काठमाडौं । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीको तयारी तीब्र पारेको छ । पशुपतिनाथ मन्दिरमा आउने श्रद्धालुको व्यवस्थापनलगायत मन्दिर क्षेत्रमा रंगरोगनदेखि सजावटको काम धमाधम भइरहेको छ ।
पशुपति क्षेत्रमा महाशिवरात्रीको चहलपहल सुरु भएको छ । यस वर्ष फागुन ६ गते शिवरात्री परेको छ । पशुपति क्षेत्रमा साधु सन्तसहित भक्तजनहरुको भिड लाग्न सुरु भएको छ । यस वर्ष पनि नेपालसहित भारत र श्रीलंकालगायतका देशबाट साधु सन्त आउने क्रम जारी रहेको छ । त्यस्तै, विभिन्न देशबाट भक्तजनसहित पर्यटकको पनि पशुपति क्षेत्रमा चहलपहल बढेको छ ।
शिवरात्रीलाई लक्षित गरेर पशुपति क्षेत्रमा रंगरोगन गर्ने कामदेखि सजावटको काम पनि भइरहेको छ । पशुपति क्षेत्रमा सरसफाईदेखि विभिन्न किसिमका फूलहरुले सजाउने काम भइरहेको छ भने फूललै फूलले भगवानका प्रतिमा बनाउने काम पनि जारी छ । त्यस्तै, पशुपति क्षेत्रमै झिलिमिली बत्तीले सजाइएको छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्दछ । यस दिनका लागि भनेर चढाउने बेलपत्रसहित फूलहरु पनि पशुपति क्षेत्रमा ल्याउने क्रम जारी छ । शुक्रबार साँझसम्म सजावटको सबै काम पूरा हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
शिवरात्रीको दिन बिहान साढे दुई बजेदेखि नै मन्दिरमा दर्शन गर्न पाउने व्यवस्था मिलाइएको छ । त्यस्तै, पशुपति क्षेत्रमा विभिन्न धर्म गुरुहरुको प्रवचन तथा विशेष कार्यक्रम पनि भइरहेको छ । पशुपति क्षेत्रमा सन्त साधुहरुसहित सडकमा बस्नेलाई भोजन गराउने तथा दान दिनेहरुको पनि भिड लागेको छ ।
शिवरात्री कै अवसरमा पशुपति क्षेत्रमा लाग्ने विशेष मेलाको पनि तयारी गरिएको छ । मेलासहित बालबालिकाका लागि विभिन्न प्रकारका मनोरञ्जनात्मक खेलको व्यवस्थाका लागि व्यवस्थापन सुरु गरिएको छ । यस वर्ष स्वदेश तथा विदेशबाट गरी २० हजार भन्दा बढीले पशुपति दर्शन गर्ने अनुमान गरिएको छ । यस्तै, मेला व्यवस्थापनकालाई ५ हजार सुरक्षाकर्मी परिचालन गर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
शिवरात्रीमा पशुपति क्षेत्रमा गाँजा, भाङ्लगायतका लागु औषध किनबेच र सेवन हुने भएकाले यस्ता पदार्थहरुको किनबेच र सेवन कडाइकासाथ रोक्ने प्रहरीले जनाएको छ । अघिल्ला केही वर्षहरुमा कोरोनाका कारण शिवरात्री पर्व राम्रोसँग मनाउन नपाएका धर्मावलम्वीले यस वर्षको शिवरात्री उत्साहपूर्व मनाउने अनुमान गरिएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !