कथा:- पसलको आईमाई
भर्खर दाल चामल लगायतका समानहरु किनेर घरभित्र पस्दै के थिएँ,
“त्याँ’बाट सामान नकिनेस है अबदेखि” – बुवाले थोरै आज्ञामिश्रित लवजमा झोक्किदै भन्नूभयो – “त्यो पसलको आईमाई खत्तम खालकी हो रे!”
कोरोनाले गर्दा लकडाउनमा घर नजिकैको पसलबाट सामानहरु ल्याउन सजिलो भैरहेको थियो । भाऊ पनि मिलाएरै लगाएको जस्तो लाग्थ्यो । ती दिदी त्यति खराब आँचरणको कम्सेकम मलाई चाहिँ लागेको थिएन । प्राय: सुतीको साडी ब्लाउज या कुर्था सुरुवालमा पसलमै बसिरहन्थीन । हो, कहिलेकाहीँ किशोरवयका १८-२० बर्ष जस्ता देखिने दुई केटाहरु पनि त्यहिँ वरिपरी बसिरहेको देख्थें । तिनिहरु को हुन? किन त्यतै देखिईरहन्छन ? कहिलै चासो राखिनँ । मेरो सरोकारको बिषय पनि थिएन ।
धेरै खुलेर कुराकानी नगर्ने ती दिदीले सामान किन्न जाँदा सोधेको कुरा भन्दा बढि कहिल्यै बोलिनन । हेर्दा चाहिँ म भन्दा चार-पाँच बर्षले जेठी हुन कि भन्नेसम्मको अनुमान रह्यो । गहुँगोरो बाटुलो अनुहारमा छोटोछोटो कपाललाई टमक्क हुनेगरि पछाडी लगेर बाँधिएको र हल्का कलेजी रंङ्गको लिपिस्टिक जहिल्यै ओठमा खुलेको हुन्थ्यो । बिदेशको बसाई बिट मारेर भर्खरभर्खर गाउँ बस्न थालेकोले यतातिरको बातावरण उति साह्रो मेसो पाइसकेको थिईनँ तर पनि लिपिस्टीक लगाउँदैमा चरित्रहिन जस्तो गम्भीर आरोप त नलगाउनु पर्ने हो ! मनमा कौतुहल जागेर बुवालाई सोधें – ” तपाईलाई कस्ले भन्यो ? के गर्छे अरे र त्यस्तो काम ?”।
“सुन्दर बाबुले भनेको ! अरु कुरा त मलाई पनि था’छैन तर ‘त्या’बाट केही नकिन्नु है ,खत्तम आईमाई हो’ भन्यो । चरीत्र ठिक छैन रे । उस्ले केही था’पाएरै त भनेको होला नि “।
सुन्दर बाबू !
गाँउमा हल्काफुल्का नेतागिरी गर्ने अधबैंसे उमेरको स्त्री लम्पट पुरुष । मलाई त्यो भुँडे सुन्दर बाबू बोलेको खासै मन पर्दैन । धेरै चिप्लो घस्छ । मै जान्ने मै बुझ्ने टोपलिन्छ । तैपनि , माओबादी जनयुद्धकालमा बिदेश जानुपर्दा भनसुन गरेर ‘पुलिस रिपोर्ट’ बनाउन भने सहयोग गरेको थियो । त्यो बेला कम्ती त गाह्रो थिएन जाबो पुलिस रिपोर्ट बनाउन पनि ।
यसैले गर्दा ‘नि होला जहिल्यै मेरो प्रत्येक नमस्कारको बद्लामा कान-कानसम्म ओठ पुर्याएर हाँस्दै र धाप मार्दै – “छोरो! बेटा!! के छ खबर? केहि परे भन्नू है आफ्नो अंकललाई !” भन्न छुटाउँदैन । मनमनै, ‘ खाते, कत्ति न तेरो छोरो बेटा’ भनेर मुर्मुरिए पनि मुस्कान दिएर हवसको मुद्रामा मुन्टो हल्लाउँछु । मेरो लाटोसिधा बुवा भने उस्को “फ्यान” नै हुनुभएको छ । खुब प्रशंसा गर्नुहुन्छ । प्राय सँधै होटलमा उ सङ्ग खाएको चियानास्ताको बिलको भुक्तान, वहाले नै गर्नुहुन्छ भन्ने सुनेको छु ।
बुवाको कुरोले मलाई झन खसखस लाग्यो । नारीलाई त अर्को नारीले पक्कै राम्रोसङ्ग चिनेको हुन्छ भन्ने लागेर ति दिदीको बारे साँझमा आमासङ्ग बुझ्ने कोशिस गरें । आमाका अनुसार उनि पोखरा तिरको रहिछिन । लोग्ने, गाडी दुर्घटनामा मरेपछि त्यहाँ बस्न मन नलागेर माइतीबाट केहि ऋणधन गरेर यहाँ माडीमा किराना पसल गर्न आएकि रे । टाढाको नातापर्ने दाजु ईन्डिया ठोरीमा किरानाको होलसेल गर्छन रे । यो भन्दा बाहेक आमालाई पनि अरु कुरो थाह रहेनछ।
यता मलाई भने उनीबारे सबै बुझ्ने हुटहुटी जाग्न थाल्यो । तर समस्या, सोधुँ कस्लाई ?
एकदिन अरु ग्राहक नभएको मौका पारेर पसलमा गएँ । कुर्सीमा बसेर कुनै किताब पढ्दै रहिछिन। कोहि आएको थाहा पाएर टाउको उठाईन अनि प्रश्नसुचक नयनले हेरिन। म नबोली उभिईरहें । एकछिन मेरो स्वरको प्रतिक्षा गरेपछि फेरि पुर्बवत रुपमै घोप्टिएर पढन थालिन । म द्विबिधामा परें – चुपचाप फर्किउँ कि केहि भनुँ ? । के भनुँ के भनुँ हुदाहुदै फ्याट्ट भनेछु – ” दिदी ! तपाईलाई खत्तम आईमाई भनेर भन्छन । म तपाई बारे बुझ्न चाहन्छु ।”
यस्तो कुरा सुनेर त्यहाँ सानोतिनो भुईचालोनै आउनुपर्ने हो । हत्पत नसोची बोल्दा मुखबाट फुत्कि त हाल्यो । चिथोर्न झम्टिने हो कि भाटा लिएर हान्न तम्सिने हो भन्ने लाग्दालाग्दै किताबबाट मुन्टो पनि नउठाई शान्त स्वरमा भनिन् – ” तपाईंलाई जे लाग्छ त्यही बुझ्नुस न ।”
“तपाईको बारे मलाई कस्ले भनिदिन्छ र बुझ्नु ?”
शायद यो प्रश्न नै अल्ली हल्का थियो कि के भयो, कुनै प्रतिउत्तर दिईनन । म उसैगरि चुपचाप उभिईरहें। केहिबेरको उभिने उपक्रममै एउटा ग्राहक चुरोट किन्न आयो । उठेर हातमा थमाईदिईन । त्यो मान्छेले चुरोट सल्काउदा सल्काउदै अनौठो नजरले म तिर र ती दिदी तिर छड्के हेर्यो । बुङ्ग धुँवा उडायो र बाटो लाग्यो । मलाई बाक्लो धुँवाको खारले ख्वाकख्वाक खोकी लाग्यो । हातले धुँवा पन्छाउँदै अलिकति अगाडि सरेर भनें- “केही त बोल्नुस ” ।
यसरी भनेको आफ्नै भनाई आफैलाई मन परेन । मसङ्ग सोध्नलाई अरु केहि कुराहरु पनि त थिएन नि। उनको सुन्दर चेहरा भित्रको क्लान्त चरित्र जान्ने एकल उद्देश्य न हो ।
“मलाई नबोलीकन नै सबै बुझ्ने लोग्नेमान्छे मनपर्छ।”
“नबोलीकन सबै बुझिटोपल्ने मान्छेले गलत बुझ्न पनि त सक्छ । जसरी सुन्दरबाबुले गलत बुझिरहेको छ । जसरी भर्खर यहाँ चुरोट किन्न आएको ग्राहकले बुझेर गयो । बिस्तारै धेरैधेरै मान्छेहरुले गलत बुझ्नेछन तबसम्म, जबसम्म तपाईं बोल्नुहुन्न ।” -अहिले भने आफ्नो भनाई अल्लि गहनसङ्ग राख्नसकें जस्तो भयो ।
“मलाई कसैले बुझेन भनेर गुनासो छैन “।
उनको यो चिसो जवाफले मेरा उत्साह पनि केहिबेर नचिस्सिएको होइन । तैपनि हार नखाई उहीँ कुरा दोहोर्याए – ” मलाई बुझ्नुछ । तपाईको बारे जान्नुछ । आगत र बिगतलाई नजिकबाट छाम्नु छ ।”
एकैछिनमा उही दुई केटाहरु कतैबाट टुप्लुक्क आईपुगे । सरासर पसल भित्र गएर एउटाले आदेशात्मक लवजमा बोल्यो – ” दिदी खाजा खान जा। हामी बस्छौं अब ।”
उनिहरु आइपुगेपछि म त्यहिं उभिईरहनु उचित लागेन । फर्किदैगर्दा मनमा कुरो खेल्यो – एउटा त भाई रहेछ , त्यो अर्को १७-१८ बर्षको जस्तो अल्लि भर्खरको देखिने चाहिँ छोरो होला कि ?। ‘
त्यसपछिका दिनमा उनि एक्लै भएको मौका मिल्यो कि केहि न केहि किन्ने निहुँ पारेर जान थालें । अरुले खाएको धुवाले पनि असर गर्ने मलाई कुनैकुनै दिन त चुरोट किन्ने निहुँ धरी बनाएँ। जति कोट्याए पनि ती दिदीको मन शालक गुडुल्किए जस्तो गुडुल्की रह्यो । कहिल्यै खुलेन ।
अब मैले जिद्दी गर्न छोडिसकेको थिएँ । बुवाको आँखा-कान छलेर सामान चाहिँ त्यही पसलबाट किनिरहें । एकदिन प्लास्टिकबाट किनमेल गरेको सामानहरु निकाल्दै गर्दा पिँधमा पट्याएर राखिएको कागजको पाना भेटें । लेखिएको थियो – मलाई हजुरको नामसम्म थाहा छैन ।
बिना सम्बोधनमै लेख्दैछु – मेरो बारे हजुरलाई जान्नेमात्र उत्सुकता देखेर अचम्म लाग्यो । प्राय: लोग्नेमानिसहरुको, मांशलदेहले पुष्ट नारीहरुलाई ‘जान्नमा’ भन्दा ‘तान्नमा’ बढि रुचि हुन्छ । त्यहि माथि म ३२-३५ बर्षमै सिँउदो पखालिएकि एकल नारी ,लोभी नजरहरुको आँखा किन नपरोस ?। भाई र छोराहरुसङ्ग बसेर आफ्नो पिडादायी अतीत बिर्सने कोशिस गर्दैछु ।
खैर, यो कुरालाई यहि छोडेर मुलमुद्दामा आउदैछु । सुन्दरबाबुले एकान्त पारेर एकदुई चोटि हातै समातेरं ‘तान्ने” काम गरेपछि मैले पनि एकथप्पड ‘हान्ने’ काम गरेंकि थिएँ । त्यसैले होला वहाको नजरमा म खराब आईमाईमा दरिएको । चुपचाप सहन्थें भने वहाले शायद यो आरोप लगाउनु हुन्थेंन । चरित्रै गिराए पनि केहि छैन, कमसेकम स्वाभिमान गिराईन । यसैमा संतुष्ट छु । – भावना ।
यो पत्र पक्का पनि मेरो लागि पहिल्यै लेखेर राखिएको हुनुपर्छ । सामान किन्दा त्यहिँ उभिएको म, कतिखेर आँखा छलेर खुसुक्क हालीदिईछन । जेहोस, पत्रले मेरो मन, झरीपछिको आकास खुलेझैँ छ्याङ्ग भयो । अबका दिनहरुमा उनले बाँच्नकै लागि गर्नुपर्ने सङ्घर्षको मैदान अफ्रिकाको मसाईमाराको भन्दा कम भयानक हुनेछैन । जहाँ शिकारीहरुको तिखा नजर हरहमेशा कतै न कतै झाडीबाट घुरीरहेको हुनेछ भन्ने लाग्यो ।
भोलिपल्ट फेरि पसलमा ग्राहक नभएको मौका छोपेर पुगेँ। उनी उसैगरि घोप्टिएर कुनै किताब पढदै रहिछिन । मुटु जोडजोडले धड्किदै थियो । हिम्मत जुटाएर भनें -” दिदी ! मैले बुझें । जब कसैलाई पिडाको घनत्व चर्को हुन्छ उ शनैशनै: चुप बस्न थाल्छ; जसरी तपाईं आजकाल बस्नुहुँदैछ । तर अबका दिनहरुमा म तपाईलाई उमङ्ग लिएर बाँच्न र हाँस्न सघाउँछु । सुन्दरबाबुहरु जस्ता चरित्रसङ्ग सङ्गै लडौं न । म सङ्ग बिबाह गर्नुहुन्छ र? ।”
मेरो प्रस्तावले बम फुटायो पक्कै ।
किताबबाट ध्यान हटाएर एकछिनसम्म सोचमग्न हुँदै मलाई हेरिन अनि सुस्तरी भनिन – “दिदीसङ्ग बिहे हुन्न । पहिला ‘दिदी’ भन्न छोड्नुस , सिर्फ भावना भन्नुस ।”
( समाप्त)
– हाल; चितवन, भरतपुर -१२
आफ्नो प्रतिक्रिया दिनुहोस् !