काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा राज्यशक्तिको चरम दुरुपयोग गरेको आरोप लगाएका छन् ।
बिहीबार पार्टीका स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिका लागि आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनले पैसाको व्यापक दुरुपयोग गर्दा पनि एमालेले चुनाव जितेको बताएका हुन् ।
उनले एमालेले निर्वाचन मात्र नलडी एउटा अधिनायकवादका विरुद्ध लडनुपरेको बताए । उनले भने, ‘संसद कब्जा गर्ने अपराधिक क्रियाकलाप, राज्य शक्तिको दुरुपयोग गरेर, पैसाको व्यापक वितरण गरेर पैसाको दुरुपयोग भयो हामीले लडेको चुनावमा । हामी चुनाव मात्रै लडेनौं एउटा अधिनायकवादका विरुद्ध लडनुपर्यो । हाम्रो अस्तित्व मेटाउन खोजिएको थियो। तर आज पनि देशको प्रमुख राजनीतिक शक्ति हौँ । गठबन्धनका नाममा बनेको तानाशाहविरुद्ध हामीले बलियो प्रतिरोध गर्यौँ।’
उनले एमालेका विरुद्ध सबै प्रतिक्रियावादी मिलेको आरोप लगाए । उनले एमालेका जनप्रतिनिधिले महासंग्राम जितेर आएको भन्दै बधाई दिए । उनले आफूहरुको अस्तित्व मेटाउन खोजिए पनि तानाशाहीहरुविरुद्ध एमालेले बलियोसँग डटेर उभिन सकेको बताए ।
उनले लोकतान्त्रिक अभ्यासको क्रममा चरम तानाशाही देखिएको बताए । उनले भने,’लोकतान्त्रिक अभ्यासका क्रममा देखिएको चरम तानाशाही भ्रष्ट र नैतिकताको सीमा पार गरेको छ । विश्वमा कहीँ नसुनिएको बाहिरका अधिकारी राखेर बनाइन्छ।’
आफ्नो प्रतिक्रिया दिनुहोस् !