काठमाण्डौः प्रधानमन्त्री दाहाल शनिबार राष्ट्रसंघको महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलसहित न्युयोर्क जाँदै छन् । समाचार आजकाे कान्तिपुरमा प्रकाशित छ ।
प्रधानमन्त्री दाहाल १९ औं एसियाली खेलकुदको उद्घाटनमा सहभागी हुन न्युयोर्कबाटै चीन जान लागेका हुन् । यही क्रममा उनले राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छियाङसँग भेटवार्ता गर्नेछन् ।
प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग हाङझाउमै भेटवार्ता हुने सदनलाई जानकारी गराए । सेप्टेम्बर २१ मा महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री दाहाल चीन भ्रमणमा निस्कने कार्यक्रम छ । राष्ट्रसंघको महासभामा एक दर्जन मुख्य कार्यक्रममा सहभागिता जनाउने दाहालको गृहकार्य भएको छ ।
प्रधानमन्त्री दाहालले सीसँगको भेटवार्ताबारे जानकारी दिँदै भने, ‘हाङझाउमै महामहिम चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता हुने कार्यक्रम रहेको छ ।’प्रधानमन्त्रीको हैसियतमा दाहाल तेस्रो पटक चीन भ्रमणमा जान लागेका हुन् । त्यस्तै बेइजिङमा सेप्टेम्बर २५ मा चिनियाँ समकक्षी ली छियाङसँग औपचारिक भेट र द्विपक्षीय भेटवार्ता हुने पनि प्रधानमन्त्री दाहालले संसद्लाई जानकारी गराए ।
अमेरिकाबाट सिधै चीन भ्रमणमा जाँदा कूटनीतिक सन्देश राम्रो नजाने भनेर आलोचना भइरहँदा प्रधानमन्त्री दाहालले भने राष्ट्रसंघीय महासभा र चीनको भ्रमण तालिकाबीचमा छोटो समय भएकाले न्युयोर्कबाटै बेइजिङ जान लागेको बताए । ‘भ्रमणलाई नेपाल र नेपालीको हित एवं नेपाल–चीन सम्बन्धलाई थप मजबुत तुल्याउन सदुपयोग गर्ने मेरो प्रयास रहने कुरा म सम्मानित सदनलाई अवगत गराउन चाहन्छु ।’
दाहालले भने, ‘कोभिडको कारण नियमित हुन नसकेका द्विपक्षीय व्यापार नाका र परम्परागत सीमानाकाहरू खोल्ने विषयमा समेत कुराकानी हुनेछ ।’ कोभिड महामारीपछि प्रधानमन्त्रीस्तरमा हुने पहिलो उच्चस्तरीय भ्रमणले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउनुका साथै नेपालको पूर्वाधार विकास, कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य, शिक्षालगायत विविध क्षेत्रमा छिमेकी मित्रराष्ट्र चीनबाट प्राप्त सहयोगबारे छलफल हुने दाहालले बताए ।
संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा यस पटक सानो र छरितो टोली जान लागेको पनि प्रधानमन्त्री दाहालले बताए । अति कम विकसित देशहरू (एलडीसी) को अध्यक्षका हैसियतले नेपालले साझा चासोका विषयमा विभिन्न मञ्चमा आफ्ना धारणा राख्ने पनि प्रधानमन्त्री दाहालले जानकारी दिए ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले प्रधानमन्त्री दाहालको चीन भ्रमण स्वीकृत गरेको छ । चीन भ्रमणका क्रममा प्रम दाहालले कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेको चीनको छोङछिङ महानगरपालिकामा रहेको छोङछिङ एकेडमी अफ एग्रिकल्चरल साइन्सलगायत विज्ञान तथा प्रविधि विकासका केन्द्रको पनि अवलोकन गर्ने कार्यक्रम तय भएको छ ।
छोङछिङको भ्रमणपश्चात् नेपालसँग सिमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने र उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गरी नेपाल फर्कने कार्यक्रम रहेको दाहालले संसद्लाई जानकारी गराए ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !