नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट उपसभापति पदमा धनराज गुरूङले अर्का बलिया उम्मेदवार विजयकुमार गच्छदारलाई दुई मत अन्तरले हराउँलै विजयी भए। बुधबार साँझ भएको उपसभापतिको मतगणनामा सुरूवातदेखि नै अग्रता लिएका उनी आफैं मतगणनास्थलमा पुगेका थिए। १३०० मतगणना हुँदा शेखर कोइराला प्यानलका गुरूङले ४२ मतले सबैभन्दा अगाडि थिए। देउवा प्यानलका पूर्णबहादुर खड्काले ५०१ मत पाउँदा गुरूङले ५४३ मत पाएका थिए।
बिस्तारै खड्काले गुरूङलाई उछिने तेस्रो स्थानमा रहेका विजय गच्छदारले मतान्तर घटाउँदै लगे। १९०० मत गणना हुँदा खड्काले ९०८ मत पाए भने गुरूङ पछि परे। उनले ८८८ मत पाए भने तेस्रो स्थानमा रहेका गच्छदारको ७९८ मत थियो।
२८६७ मत गणनामा खड्काले १३२१ मत ल्याउँदा गुरूङले १२६७ मत ल्याए। उता गच्छदारले मतान्तर घटाउँदै १२३१ पुर्याए। ३५५८ मत गणनामा खड्काले १९७ मतान्तरले अग्रता बढाएर १६३४ पुर्याए। गुरूङले १४३७ पुर्याउँदा गच्छदारले १४४३ पुर्याएर दोस्रो स्थानमा उक्लिए। गुरूङ तेस्रो भए।
यस्तै ४२५८ मत गणनामा खड्काले १८६५ मत पाए भने गुरूङले पुनः गच्छदारलाई ४ मतले उछिने। गुरूङले १६९३ मत पाउँदा गच्छदारले १६८९ मत पाए। अन्तिममा सबै मत गनिसक्दा गच्छदार २ मतले पछि परे। गच्छदारले १९०६ मत पाउँदा गुरूङले १९०८ मत पाए। २१२१ मत ल्याएर खड्का पहिलो स्थानमा रहे।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार १००-१०० को बण्डलमा मतपत्रलाई छुट्याएर गणना गरेर परिणाम सुनाउँदै गर्दा एउटा बण्डलमा गडबड भयो भन्दै गणनास्थलमै रहेका उम्मेदवार धनराज गुरुङले फेरि गणना गर्न माग गरेका थिए।
मतगणनासकिएपछि धनराजको यसबारे भनाइः मतपत्रको १०० को मुठा गन्दाखेरी म पछाडिबाट हेरिरहेको थिएँ । रेजा लगाउने अफिसियलले चाहिँ मेरो रेजा लगाउने ठाउँमा प्रष्टै रूपमा चारवटा ठाडो धर्कापछि पाँचौँमा क्रस गर्नुपर्छ । तर उहाँले पाँचवटा पुगेपछि बल्ल छैटौँमा क्रस गर्नुभयो । मेरै आँखाले त्यो देखियो । फेरि उहाँले एउटा धर्का तान्नुपर्नेमा मैले हेर्दा हेर्दै नतानेको देखेँ ।
त्यसमा ग’डब’ड देखिएपछि मैले अन्तिममा भनेँ–यो त केही भइरहेको छ ? तपाईले त ग’डब’ड गर्नुभयो त हेर्नुस् त राम्रोसँग भनेर फेरि गन्दा उहाँले गल्ती गरेको पुष्टि भयो । ५ र ठाडो धर्नापछि जुन क्रस गरिएको थियो । यो चाहिँ मैले गल्ती गरेको रहेछु भन्नुभयो । अनि अर्को पनि गल्ती भएको छ तपाईँले धर्का तान्नु भएको छैन भन्दा त्यसपछि १०० को टोटलमा ग’डब’ड देखिएपछि ल एक पटक फेरि हेरौँ भन्ने कुरा भयो । त्यसपछि पहिला १०० मा ४१ मत भन्नु भएको थियो मेरो, तर ४३ मत भयो । त्यो नियोजित नभनौँ त्यो मानवीय इरर पनि हुनसक्छ ।
उपसभापतिको मतगणना हुँदा निर्वाचन समितिका अधिकारीहरुले पटक पटक धनराजको मत कम गर्न खोजेको एकजना बुथ प्रतिनिधिले बताए। उक्त कुरा सुजाता कोइरालाका बुथ प्रतिनिधिले पनि पुष्टि गरे। उनका अनुसार धनराजले अग्रता लिँदा पटक पटक विवाद भएको थियो।
‘निर्वाचन समिति गच्छदारको पक्षमा नरम भइदिँदा धनराज आफैं सानेपामा ख’टिएपछि अन्य मतमा गडबडी हुन पाएन,’ एक बुथ प्रतिनिधिले भने, ‘धनराज यहाँ नभएको भए उनको भोट घट्न सक्थ्यो र नतिजा गच्छदारको पक्षमा जाने सम्भावना थियो।’
नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उठेका नेता सुवास पोखरेलले पनि निर्वाचन समितिले कुनै न कुनै रुपमा धनराजको भोट घटाउने कोसिस गरेको बताए।
‘धनराजको भोट पटक पटक घटाउने प्रयास भएकै हो’, उनले भने, ‘गच्छदारसँग कडा प्रतिस्पर्धा हुँदा एक दुई भोट घटाउन गरिएको कोसिस प्र’तिवादका कारण सफल भएन।’
आफ्नो प्रतिक्रिया दिनुहोस् !