काठमाडौं । सत्ता गठबन्धनमा मन्त्रालयको भागबन्डा मिलेसँगै दलहरु मन्त्री छानेटको लागि आन्तरिक तयारीमा जुटेका छन् । यस्तैमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि मन्त्रीहरुको टुंगो लगाउने तयारी गरेको छ ।
संसदीय दलको बैठकले मन्त्री छान्ने अधिकार पार्टी सभापति लामिछानेलाई दिएपछि उनी अन्तिम टुंगोमा पुग्ने तयारीमा रहेको श्रोतले बताएको छ । प्राप्त जानकारी अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाललाई शिक्षा र डिपी अर्याललाई श्रममन्त्री बनाउने तयारी गरिएको छ ।
शिक्षामा विवाद नरहे पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा विराजभक्त श्रेष्ठले पनि दाबी गरेका छन् । यस पार्टीले एक जनालाई राज्यमन्त्री बनाउन पाउनेछ । राज्यमन्त्रीमा तोसिमा कार्की वा सोविता गौतम मध्य एक जना हुने श्रोतको भनाइ रहेको छ ।
जसपाको असहमति
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले सत्ता साझेदार दलहरुबीचमा भएको मन्त्रालयको भागबण्डामा असहमति जनाएको छ । सो पार्टीलाई २ मन्त्रालय दिने सत्ता साझेदार दलमा सहमति भएपनि उसले अस्वीकार गरेका हो ।
जसपा प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले मन्त्रालय बाँडफाँडमा जसपाको गम्भीर असहमति रहेको बताए । ‘सत्ता गठबन्धनले सोमबार गरेको मन्त्रालय बाँडफाँटमा जनता समाजवादी पार्टी, नेपालको असहमति रहेको छ’, उनले भने, ‘निर्णयमा पुनर्विचार नगरिए जसपा सरकारमा सहभागी हुँदैन ।’
आफ्नो प्रतिक्रिया दिनुहोस् !