काठमाडौं । बुधबार राति आफ्नै निवासमा ग्यास विष्फोटबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद डा. चन्द्र भण्डारीको दुवै खुट्टाको अपरेसन सफल भएको छ ।
बिहीबार काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालको रिफरमा भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा भर्ना गरिएका भण्डारीको दुवै खुट्टाको सर्जरी सफल भएको हो । डा. भण्डारीसँगै उपचार समन्वयको लागि मुम्बईमा रहेका नेता योजराज कँडेलले दिएको जानकारी अनुसार दुईवटै खुट्टाको सर्जरी गरिएका उनको अवस्था सामान्य रहेको छ ।
भण्डारीको उपचारमा संलग्न मुख्य सर्जन डा. सुनिल केसवानीले उनको दायाँ खुट्टामा गहिरो चोट लागेको कारण सर्जरीमा धेरै समय खर्चिनु परेको जानकारी दिएको नेता कँडेलले बताएका छन् । भण्डारीको अर्को सर्जरी कहिले गर्ने भन्ने बारेमा चाहीँ अव्जरभेशनपछि मात्र निर्णय गर्ने तयारी डाक्टरहरुको रहेको छ । हाल भण्डारीलाई एन्टिबायोटिक्स निरन्तर दिइरहेको बताइएको छ ।
मंसिर ४ गते भएको निर्वाचनमा गुल्मीको क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका डा. भण्डारी बुधबार काठमाडौंको बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास विष्फोटमा परि गम्भीर घाइते भएका थिए । कीर्तिपुरको बर्न अस्पतालले उनको शरीरमा २५ देखि ३० प्रतिशतसम्म जलन भएको बताएको थियो ।
अस्पतालले नै नेपालमा भण्डारीको सहज उपचार हुन नसक्ने बताएपछि उनलाई भरपर्दो उपचारको लागि हिजै एयर एम्बुलेन्स मार्फत मुम्बई लगिएको हो । शरीरको ७० प्रतिशत भाग जलेर गम्भीर घाइते भएकी उनकी आमा हरिकलानको भने उपचारकै क्रममा हिँजो बिहान निधन भएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !