काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा मंगलबार सर्वदलीय बैठक बसेको छ। शीतल निवासमा आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी ओलीसहितका शीर्ष नेता सहभागी छन् ।
अधिकारीले समसामयिक राजनीतिक विषयमा छलफल गर्न शीतल निवासमा सर्वदलीय बैठक बोलाइएको हो । संघीय संसद्मा नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा छन्।
सत्ता समीकरणको विषयमा दलहरुबीच चरणबद्ध रुपमा छलफल भइरहेको समयमा राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक आयोजना गरेकी हुन्। सर्वदलीय बैठकमा बोल्दै राष्ट्रपति भण्डारीले वर्तमान राजनीतिक परिस्थितिले आफूलाई चि’न्तित बनाएको बताइन् । उनले दलहरुलाई मिलेर राजनीतिक समस्याको समाधान गर्नसमेत आग्रह गरेकी छन् ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र संसद् राम्रोसँग सञ्चालन नभएमा संसद् विघटन गरेर निर्वाचनमा जानु स्वाभाविक रहेको बताएका छन् ।
सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन घोषणा असंवैधानिक भएको भन्दै फागुन ११ गते पुनःस्थापना गरेको थियो ।
राष्ट्रपति निवास शीतल निवासमा आयोजित सर्वदलीय बैठकमा सहभागी नेमकिपा सांसद् प्रेम सुवालका अनुसार प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनबारे कुरा उठाएका थिए । ‘प्रधानमन्त्रीले बोल्ने क्रममा सरकार र संसद् चल्ने अवस्था नआएपछि विघटन गरेको हो भन्नुभयो । उहाँले संविधानको धारा ७६ र ८५ मा पनि विघटनको व्यवस्था गरिएको छ भन्नुभयो । सरकार र संसद् नचले फेरि पनि विघटन हुन्छ भन्नुभयो । त्यसमा आश्चर्य मान्नुपर्ने कुरा छैन,’ सुवालले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने ।
सुवालका अनुसार प्रतिनिधिसभा विघटन गरेर चुनाव जाने आफ्नो निर्णयलाई प्रतिगमन भनिएकोमा पनि अ’सन्तुष्टि जनाएका थिए । ‘चुनाव प्रतिगमन कसरी हुन्छ ? अबको डेढ वर्षमा स्थानीय तहको चुनाव हुन्छ र दुई वर्षमा संघ र प्रतिनिधिसभाको हुन्छ, त्यस्तो अवस्थामा चुनाव कसरी प्रतिगमन हुन्छ ? भनेर प्रश्न गर्नुभएको थियो,’ सुवालले भने ।
प्रधानमन्त्रीले फेरि पनि ताजा जनादेशमा जानुको विकल्प नरहेको भन्दै पुनःस्थापित प्रतिनिधिसभाले शुरुकै दिनदेखि काम गर्न नसक्ने संकेत देखिइसकेको बताएपछि पौडेलले प्र’तिवाद गरेका थिए ।
पौडेलले संसद सुचारु गर्नेबाहेक अरु विकल्प नरहेको भन्दै यस्तो पहल राष्ट्रपतिले पहिले नै लिनुपर्ने बताएका थिए । अहिले प्रधानमन्त्रीले लिनुपर्ने पहल नलिएको पौडेलको भनाइ थियो ।
सर्वदलीय बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव सहभागी थिए ।
त्यस्तै गृहमन्त्री रामबहादुर थापा, एमाले महासचिव ईश्वर पोखरेल, नेता सुवास नेम्वाङ, विष्णु पौडेल, नेपाली कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल, विमलेन्द्र निधि, डा. शशांक कोइराला, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ र देव गुरुङ पनि सहभागी थिए ।
सर्वदलीय बैठकमा मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र जनकराज शर्मा र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल पनि सहभागी थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !