काठमाडौं- नेपाली फिल्मका तीन लिडिङ अभिनेत्रीहरु रेखा थापा, पूजा शर्मा र आँचल शर्माबीच पहिलो पटक फिल्ममा सहकार्य हुने चर्चा थियो । तर अब रेखा थापाको अनटाइटल्ड प्रोजेक्टबाट आँचल शर्मा दवाडी भने अलग हुने भएकी छन् । रेखाले चलचित्रको स्क्रिप्ट पढ्न नदिएपछि उनले सो चलचित्रमा काम नगर्ने भएकी हुन् ।
रेखा स्वयंले निर्माण गर्न लागेको फिल्म ‘नायक विहीन’ नारीप्रधान चलचित्रमा उनीहरुले एकसाथ अभिनय गर्न लागेका थिए । पूजाले सामाजिक सञ्जालमा नै रेखासँग सहकार्य पाएकोमा उत्साहित स्टाटस लेखेकी थिइन् । आँचलले भने अहिलेसम्म यो फिल्मका विषयमा केही पनि बताएकी छैनन् । आगामी बैशाखबाट छायांकनमा जाने फिल्मलाई निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्नेछन् ।
स्रोतका अनुसार रेखाले कुराकानी गरेपछि आँचलले सुरुमा राम्रो रेस्पोन्स दिएकी थिइन् । पछि उनले फिल्मको स्क्रिप्ट पढ्न मागिन् । तर, रेखाले ‘तिमीले अहिलेसम्म कतिवटा फिल्मको स्क्रिप्ट पढेर साइन गरेकी छौ ? भनेपछि आँचल भड्किएकी हुन् । उनले रेखालाई फिल्म नगर्ने बताइसकेको बुझिएको छ ।
आँचलले नखेल्ने भएपछि रेखा अर्की हिरोइनको खोजीमा छन् । चलचित्रको प्रोड्युसर भनेर रेखाका पूर्वपति छवि ओझाको नाम आएको भएपनि त्यो सत्य नभएकोसमेत खुलेको छ । छविको कम्पनीले चलचित्रको डिस्ट्रिब्यूसन मात्र लिएको हो ।
केहिदिन आगाडीमात्र स्क्रिप्टको ‘फस्ट ड्राफ’मा काम भैरहेको र फिल्म महिलाप्रधान विषयवस्तुमा बन्न लागेको कुरा बाहिर आएको थियो । फिल्म पूर्ण कमर्शियल हुने छ । रेखासहित पूजा र आँचललाई एकसाथ पर्दामा हेर्न दर्शक पनि उत्साहित थिए तर अब आँचलले भने काम नगर्ने बुझिएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !