काठमाडौं । संवैधानिक परिषद्को बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया तत्काल अघि बढाउन प्रमुख तीन त्राजनीतिक दलबीच सहमति भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसहित तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठकले संवैधानिक परिषद्को बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गर्ने सहमति गरेको हो ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा सभामुख घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी प्रमुख दलका शीर्ष नेताहरुबीच प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको हो ।
आज बिहान बसेको बैठकमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाका लागि संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको बैठकपछि कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । बैठकपछि नेकपा एमालेका सचेतक महेश बर्तौलाले प्रधानन्यायाधीश नियुक्तिका लागि एमालेको तर्फबाट सहयोग रहने बताए ।
प्रधानमन्त्री प्रचण्डले लामो समय सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशका भरमा चलेको भन्दै प्रधानन्यायाधीश नियुक्ति गर्नुपर्ने प्रस्ताव गरेका थिए ।प्रधानमन्त्रीको उक्त प्रस्तावमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमति जनाएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्री प्रचण्डले उपयुक्त समयमा बैठक बोलाउने छन् । बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पनि अघि बढाउने विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र एमालेका अध्यक्ष ओली, सभामुख घिमिरे र तीन राजनीतिक दलका सचेतकहरु पनि सहभागी थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !