अभिनेत्री करिष्मा मानन्धर यतिबेला नेकपा एमालेमा प्रवेश गर्न लागेको विषयले चर्चा पाइरहेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पटक–पटकको भेटपछि उनी एमालेमा प्रवेश गर्न लागेकी हुन् । यसअघि उनले डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा सक्रिय भएर काम गरिन् । नयाँ शक्ति पार्टी संघीय समाजवादीमा एकीकरण भएपछि पनि करिष्माले केही समय काम गरिन् । तर, विस्तारै उनी राजनीतिबाट निष्क्रिय बनिन् ।
नयाँशक्ति पार्टीमा रहँदा डा. बाबुरामसँगै मञ्चमा देखिने करिष्माले आखिर किन छाडिन् त बाबुरामको साथ ? करिष्मा मानन्धरसँग नयाँ शक्ति पार्टीमा राजनीतिक सहकार्य गरेका राजनीतिक विश्लेषक एवं हाल जनता समाजवादी पार्टी (जसपा) का नेतासमेत रहेका डम्बर खतिवडा करिष्माको पाँच वर्षे राजनीतिक जीवनलाई यसरी सम्झन्छन्–
म राजनीतिकर्मी करिष्मा मानन्धर दिदी देशको राम्रो कलाकार र सम्मानित अभिनेत्री हुनुहुन्छ । म पहिलेदेखि नै उहाँको फिल्म हेर्दै आएको मानिस हुँ । उहाँको ‘अरुणी’मा भन्ने फिल्म पनि हेरेको थिए । अभिनय क्षेत्रमा उहाँले जुन भुमिका गर्नु भएको छ । त्यो हामी राजनीतिक क्षेत्रका मानिसले पनि सम्मान गर्ने कुरो हो ।
नयाँ शक्ति पार्टीको करिव ५ बर्षे अवधिमा करिष्मा दिदीसँग जुन संगत गर्ने अवसर मिल्यो, त्यसको आधारमा भन्ने हो भने उहाँ एकदमै भद्र, कम बोल्ने, धेरै राजनीतिक हस्तक्षेप नगर्ने, आफ्नो भागमा परेको काम लुरुलुरु गर्ने, साथीभाइको चित्त नदुखाउने त्यस्तो स्वभावको हुनुहुन्थ्यो ।
राजनीतिक विचारधाराको भिन्नता बुझ्न उहाँलाई गाह्रो छ । नयाँ शक्तिमा लाग्दा पनि हामी किन लाग्यौं, राजनीतिक एजेन्डाले कहाँ पुर्याउँछ भन्ने विषयमा कन्फर्म नभएको हुँदा उहाँको राजनीतिक जीवन कस्तो हुन्छ, म भन्न सक्दिनँ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !