नेपाली कांग्रेसका सभापति एवं शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। देउवाले प्रधानमन्त्री नियुक्त भएको चार दिनमा प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका हुन्। देउवाले १६५ मत प्राप्त गरेका छन्। संसदमा उपस्थित २४९ मध्ये विपक्षमा ८३ र तठस्ठमा १ मत खसेकाे छ। आजको बैठकमा आफ्ना दलका साथै देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमाले संस्थापन पक्षकै केही सांसदको समेत मत जित्न सफल भए। त्यसैगरी जनता समाजवादी पार्टी (जसपा) को दुवै समूहबाट देउवाले विश्वासको मत पाए।
देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा नेकपा एमालेका २२ जना सांसदले उनको पक्षमा मतदान गरेका छन् । देउवाले प्रतिनिधिसभामा १६५ मत पाउँदा नेकपा एमालेका २२ सांसदले मत दिएका हुन् । मत दिनेमा माधव नेपाल पक्ष मात्र नभई अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद पनि छन् । देउवालाई मत दिनमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् ।
त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् । सर्वोच्चको परमादेश पछि प्रधानमन्त्री बनेका देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार विश्वासको मत लिएका हुन्। विश्वासको मत पाउन प्रस्तावका पक्षमा १३६ मत आवश्यक थियो।
कांग्रेस सभापति देउवा पाँचौं पटक प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार उनलाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन्। सर्वोच्च अदालतले सोमबार प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश जारी गरेको थियो। साथै सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापना गरी एक साताभित्र संसद् अधिवेशन बोलाउन आदेश दिएको थियो।
संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्रीका लागि आह्वान भएपछि १ सय ४९ सांसदको हस्ताक्षरसहित दाबी गरेका आधारमा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चले परमादेश जारी गरेको थियो।फैसलाले संविधानको धारा ७६ को उपधारा ५ सरकार गठनको अन्तिम विकल्प हुने भन्दै विश्वासको मत दिएकै आधारमा ह्वीप नलाग्ने र सांसदहरूमाथि कारबाही गर्न नसकिने भनी व्याख्या गरेको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !