बिराज रोस्यारा, कैलाली । गत आइतबारदेखि परेको वर्षाका कारण कैलाली र कञ्चनपुरमा काटेर भित्र्याउन ठिक्क पारेको धानबालीलाई क्षति पु¥याएको छ ।
पानी निरन्तर परिरहेकाले किसानहरू कम भिजेका धानलाई जोगाउन जुटेका छन् । भित्र्याउन ठिक्क पारेको धान पानीले भिजेपछि वर्षभरी खाद्यान्न कसरी जोहो गर्ने भन्दै किसान चिन्तित भएका छन् । कैलाली धानखेतीका लागि पकेट क्षेत्र रहेको भएपनि यसपटकको पानीले किसानले काटेर भित्र्याउन ठिक्क पारेको हजारौँ हेक्टर क्षेत्रफलको धानबालीलाई नोक्सानी पु¥याएको छ ।
गएको आइतबार साँझ आएको हावाहुरी र निरन्तर परिरहेको वर्षाका कारण धान बालीमा नोक्सान पुगेको कैलारी गाउँपालिका– ७ की सरिता चौधरीको गुनासो छ । उहाँले १० कट्टा जमिनमा लगाएको धान बाली पूर्णरुपमा क्षति भएको भन्दै सम्बन्धित निकायले राहतका लागि प्याकेज ल्याउनु पर्ने बताउनु भयो ।
भिजेको धान कालो हुने, बिउका लागि उपयुक्त नहुने हुँदा व्यापारीले सस्तो मूल्यमा खरिद गर्नसक्ने भएकाले सरकारले ध्यान दिनु पर्ने किसानको माग हो । भिजेको धान राख्न पनि नमिल्ने र मूल्य पनि नपाइने किसान बताउँछन् । धनगढी उपमहानगरपालिका– ३ का किसान मदन चौधरीले १५ कट्टा जमिनमा लगाएको धानमध्ये अलिकता पनि भित्र्याउन नपाएको बताउनु भयो ।
कैलालीमा करिब ७० हजार हेक्टर जमिनमा धानखेती हुँदै आएको भएपनि अहिलेसम्म किसानले आधा धान पनि भित्र्याउन नपाएको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रराज शर्माले जानकारी दिनुभयो । बेमौसमी पानीका कारण भएको नोक्सानीले यो वर्ष ५ देखि १० प्रतिशत धान उत्पादनमा कमी आउने शर्माको भनाइ छ ।
अघिल्लो वर्ष २ लाख ८० हजार मेट्रिकटन धान उत्पादन भएको भएपनि यो वर्ष समय–समयमा पानी परेका कारण धान उत्पादन बढ्ने अनुमान गरिएको थियो । तर अब उक्त परीणाममा धान भित्र्याउन नसकिने शर्माले बताउनु भयो । पानी निरन्तर परिरहेका कारण किसानले कम भिजेका धानलाई भिज्नबाट बचाउन ध्यानदिनु पर्ने केन्द्रका प्रमुख शर्माले जानकारी दिनुभयो ।
किसानहरूले ७० देखि ८० प्रतिशतसम्म धान काटिसकेको बताउँदै बाँकी धान काट्ने तयारीमा रहेका किसानलाई केही समय धान नकाट्न केन्द्रले आग्रह गरेको छ ।
भिडियोः
आफ्नो प्रतिक्रिया दिनुहोस् !