काठमाडौं । माधव नेपाल पक्षका प्रभावशाली सांसद कृष्णभक्त पोखरेल आज संसदीय दलको बैठकमा उपस्थित भएर केपी ओली नेतृत्वको मूलधारमा लागेको घोषणा गरेका छन् ।
एमालेका वरिष्ठ नेता माधव कुमार नेपालका विश्वासपात्र मानिने सांसद कृष्णभक्त पोखरेल ओलीतिर लागेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एमाले संसदीय दलको बैठकमा सहभागी भएका उनले नेपाललगायतले पार्टी फुटाउन खोजेकाले आफू सो समूह छाडेर ओलीतिर लागेको बताए ।
दलको बैठकमा बोल्दै पोखरेलले फागुन २३ को फैसलापछि सबैभन्दा खुसी मनाउनेमा आफू पनि रहेको भन्दै गौरवशाली पार्टी एमाले,जबज र सूर्य चिन्ह पाएपछि आफू केपी ओलीको अभियानलाई सघाउन पूरानो समूह त्यागेर आएको बताए ।
‘नेपालहरुले पार्टी फुटाउन लाग्नु भएकोले मैले उहाँहरुलाई छोडेर यता आएको छु । मुलुकको आर्थिक समृद्धि केपी ओलीको नेतृत्वमा मात्र सम्भव छ भन्ने पक्षमा उभिएको छु । एमाले र जबज नै प्रमुख कुरा हो’, उनले बैठकमा भनेको एक नेताले बताए ।
उनले भने- छुट्टै दलको बैठक बस्नुपर्ने कुरा सकियो । म अब मूलधारमा लागेँ,यसबीचमा कहिँ कतै गल्ति भएको भए माफ पाउँ । मेरो गुरु सुवास नेम्वाङलाई मैले भने संसद विघटनमा मेरो असहमति थियो । अब सम्बृद्ध नेपाल बनाउन केपी ओलीको अभियानलाई साथ दिन र पार्टी एकताको लागि म यहाँ आएको छु ।
पोखरेलले बेलायतमा पनि जोन मेजरलाई घेराबन्दी गरेर हटाउन खोजिएको स्मरण गर्दै पछि सबैले साथ दिएर ५ वर्ष सरकार चलेको उदाहरण दिए । माधव नेपालहरुले पनि केपी ओलीलाई बिनाशर्त साथ दिनुपर्ने उनको भनाइ थियो ।
चितवनबाट निर्वाचित सांसद पोखरेल कानुन व्यवसायी पनि हुन् । उनी नेकपा विभाजनको बेला प्रचण्ड माधव पक्षको प्रतिनिधिका रुपमा अदालत र निर्वाचन आयोगमा जाने गरेका थिए । उनी माधव नेपाल पक्षका प्रभावशाली नेता हुन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !