काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने भएका छन् । विहिवार बसेको मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई सोही कुराको जानकारी गराएका छन् । संसदमा ठूलो दलको हैसियतले राष्ट्रपतिवाट प्रधानमन्त्री भएको एक महिना भित्र विश्वासको मत लिनुपर्ने हुन्छ । तर ओली सो प्रकृयामा नगई ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने भएका हुन् ।
संसदको अधिवेशन जेठ ९ गते आह्वान गर्ने निर्णय समेत आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको छ । त्यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ । प्रधानमन्त्री नियुक्त भएको एक महिना भित्र विश्वासको मत प्राप्त नभएमा उपधारा ५ को प्रक्रिया शुरू हुन्छ । पदमुक्त भएको तीन दिनपछि अर्थात वैशाख ३० गते एमाले अध्यक्ष समेत रहेका ओली प्रधानमन्त्री नियुक्त भएका थिए।
वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका थिए । तर, वैकल्पिक सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको समयसीमाभित्र काँग्रेस–माओवादीले वैकल्पिक सरकार दिन नसकेपछि ठूलो दलको हैसियतमा ओली पुनः संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो ।
अब उपधारा ५ बमोजिमको प्रक्रियामा जाँदा बहुमत सदस्यको समर्थन रहेको आधार पेस गरेमा राष्ट्रपतिले त्यस्तो सांसदलाई प्रधानमन्त्री नियुक्ति गर्ने व्यवस्था छ । तर, आधार पेस नभएमा नयाँ सरकार बन्न नसकी प्रतिनिधिसभा स्वतः भंग हुनेछ र केपी ओलीकै नेतृत्वमा चुनाव घोषणा हुनेछ ।
यसै क्रममा विहिवार हेटौंडामा भएको राष्ट्रिय सभा निर्वाचनमा अन्तत डा खिमलाल देवकोटा विजयी भएका छन् । उनले नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादललाई हराएका हुन् । एमालेकै माधव कुमार नेपाल समुहले सहयोग नगर्दा वादलले राष्ट्रियसभा उपनिर्वाचनमा पराजय बेहोरेका हुन् । बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा उनी खिमलाल देवकोटासँग पराजित बनेका हुन् ।
देवकोटाले कुल ५०८८ मतभारसहित विजय हासिल गरेका हुन् । एमालेको माधव नेपाल पक्षका मत तान्न नसकेपछि बादलको विजय असम्भव बनेको हो । राष्ट्रियसभा सदस्यमा कांग्रेस,माओवादी र एमालेको माधव नेपाल पक्षीय गठबन्धनका उम्मेदवार खिमलाल देवकोटा विजयी भएका छन् । माधव नेपाललृे नै खिमलाललाई उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए ।
मतभार अनुसार बादलले ४०१४ मत प्राप्त गरेका छन् । स्थानीय तहमा देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै प्राप्त गरेका थिए । २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका छन् । खिमलालले पाएको १२८ मतको मतभार २३०४ हुन्छ । बादलले पाएको मतभार १८५४ हुन्छ । त्यस्तै, प्रदेशसभामा बादलले ४५ मत पाउँदा खिमलालले ५८ तथा तामाङले २ मत पाए । बादलले पाएको ४५ मतको मतभार २१६० हुन्छ भने खिमलालले पाएको ५८ मतको मतभार २७८४ हुन्छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !