धनगढी- कैलाली र कञ्चनपुरमा पर्ने पूर्वपश्चिम राजमार्ग प्रहरीले सीसीटीभीबाट निगरानी गर्न थालेको छ । सुदूरपश्चिम प्रदेश सरकारले राजमार्गमा एक सय ३८ वटा सीसीटीभी क्यामरा जडान गरी संविधान दिवसको अवसरमा प्रहरीलाई हस्तान्तरण गरेको छ ।
कैलालीको चिसापानीदेखि गड्डा चौकीसम्म जडान गरिएको सो सीसीटीभी बाट राजमार्ग किनारमा रहेका प्रहरी कार्यालयहरुले निरन्तर निगरानी गर्ने छन् । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले इलाका प्रहरी कार्यालय अत्तरियामा आइतबार एक समारोहको आयोजना गरी राजमार्गमा रहेको सिसिटिभी क्यामरा प्रदेश प्रहरी मुख्यालयलाई हस्तान्तरण गरेको हो ।
मन्त्रालयले गत आर्थिक वर्षमा एक करोड ७१ लाख रुपैयाँ खर्च गरेर राजमार्गमा अपराध नियन्त्रण गर्न सिसिटिभी जडान गरेको मन्त्रालयका सचिव चुडामणी पौडेलले जनाए । सीसीटीभी हस्तान्तरण कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले सिसिटिभीले अपराध न्यूनिकरण, दुर्घटनाको जोखिम नियन्त्रण र प्रहरीलाई अनुसन्धानमा थप मद्दत पुग्ने बताइन् ।
उनले प्रहरीले खटिएर सिसिटिभिबाट निगरानी नगरे क्यामेरा जडान गरेको कुनै उपलब्धी नहुने बताइन् । उनले प्रहरीलाई अपराध न्यूनिकरण गर्न र अनुसन्धानमा सहयोग पु-याउनका लागि प्रविधिमैत्री बनाउनतर्फ प्रदेश सरकार कटिवद्ध रहेको बताइन् ।
प्रदेश प्रहरी प्रमुख पुरुषोत्तम कँडेलले प्रदेश सरकारले जडान गरेको सिसिटिभीले प्रहरीलाई अपराध अनुसन्धानमा थप सहयोग पुग्ने बताए । प्रदेश सरकारले नौ वटै जिल्लामा सिसिटिभी जडान गर्नुपर्ने भन्दै उनले प्रहरीले पनि प्रविधिको विकाससंगै आफुलाई पनि अपराध अनुसन्धानमा थप परिवर्तन गर्दै लग्नुपर्ने बताए ।
प्रदेश सचिव पौडेलले प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गमा सिसिटिभी जडानका लागि दुई करोड विनियोजन गरेकोमा ठेक्का प्रक्रियामा जाँदा एक करोड ७१ लाखमा एक सय ३८ स्थानमा सिसिटिभी जडान गरिएको बताए । उनले सिसिटिभी जडानका लागि ९० वटा पोल प्रयोग गरिएको जनाए ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !