काठमाडौँ, ३ असोज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएकी छिन्। संविधान दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्रिय एकता र समाजवादोन्मुख अर्थव्यवस्थाका लागि संविधानले महत्त्वपूर्ण दिशा देखाएको बताइन् ।
नेतृत्वले जनताको विश्वास आर्जन गर्न नसकेको अवस्थामा संविधानका सुन्दर अक्षरहरू निष्प्राण बन्न पुग्ने र जनताको विश्वाससमेत धर्मराउन थाल्ने उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले समाजमा देखिने आत्मकेन्द्रित प्रवृत्ति, भ्रष्टाचार, गलत आचरण र अनुचित कार्यहरूले जनताको बलिदानबाट निर्मित संविधान र राजनीतिक प्रणालीलाई कमजोर बनाउने बताइन् ।
भण्डारीको शुभकामना सन्देशमा भनिएको छ, “हाम्रो संविधानले सबै प्रकारका सामाजिक विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ । यसले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पनालाई साकार बनाउन समाजवादोन्मुख अर्थतन्त्र निर्माणका लागि मार्गदर्शन गरेको छ ।”
समाजवादोन्मुख अर्थतन्त्रको लक्ष्य हासिल गर्न मुलुकमा उपलब्ध प्राकृतिक स्रोत तथा ऊर्जाशील युवाशक्तिसहित मानवीय संसाधनको दिगो सदुपयोग गर्नुपर्ने उनको भनाइ छ । संविधानद्वारा सुनिश्चित गरिएका मौलिक अधिकारको कार्यान्वयन गरी राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गरिनुपर्नेमा पनि उनले जोड दिइन् ।
मुलुकको बृहत्तर हित र राष्ट्रिय विकासका लागि संविधान केबल साधनमात्र रहेको र त्यसको विवेकपूर्ण उपयोगमार्फत जनता र राष्ट्रको समग्र भलाई खोज्ने जिम्मेवारी राजनीतिक नेतृत्वको काँधमा रहेको भण्डारीको भनाइ छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !