न्यूज एजेन्सी ।
बैतडीमा टिपर दुर्घटनामा परी मृत्यु हुनेकाे संख्या चार पुगेकाे छ। दुर्घटनामा घाइते भएका पाटन नगरपालिका-३ का १२ वर्षीय राजु पन्तको मृत्यु भएको प्रहरीले जनाएको हाे। उनकाे उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटाेमा मृत्यु भएको प्रहरीले जनाएको छ।
पाटन नगरपालिका ३ गुरुडाबाट पाटनतर्फ आइरहेकाे बा ३ ख ४८७९ नम्बरको टिपर साेमबार दिउँसो ४ बजेतिर दुर्घटना भएको थियो। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दुर्घटनामा यसअघि उक्त दुर्घटनामा पाटन-३ कै ४५ वर्षीय जनकराज पन्त, १२ वर्षीया ज्ञानु विष्ट र १७ वर्षीय ललित अवस्थीकाे मृत्यु भएको हाे।
मृत्यु भएका ललित, राजु र ज्ञानु विद्यार्थी हुन्। टिपरमा ९ जना सवार रहेको बुझिएको छ। घाइते हुनेमा स्कुले विद्यार्थी २२ वर्षका राजेश पन्त, १२ वर्षका सुनिल भट्ट, १२ वर्षका अमित विष्ट, १३ वर्षका सुदीप पन्त डडेल्धुरा अस्पतालमै उपचाररत् अवस्थामा छन्।
मृत्यु भएका तीन जना र घाइते तीन जना गरी ६ जना सिगास माध्यमिक विद्यालय गुरूडामा अध्ययनरत विद्यार्थी हुन्। घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा ल्याइएको थियो। दुर्घटनाको कारण खुलेको छैन। टिपर सडकबाट सय मिटर तल खसेकाे जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक दर्शन खड्काले बताए। घटनापछि टिपर चालक फरार रहेका छन्।











आफ्नो प्रतिक्रिया दिनुहोस् !