काठमाडौं ।
नायिका केकी अधिकारी व्यवसायी रोहित तिवारीसँग विवाह वन्धनमा बाँधिएकी छन् । उनीहरुले आज एउटा सानो समारोहमा परम्परागत तवरले लगनगाँठो कसेका हुन् ।
काठमाडौंको धापासीस्थित ग्रान्डी भिल्ला अपार्टमेन्टमा बिहीबार उनले विवाह गरेकी हुन् । फेसबुकमा आफ्नो विवाहको फोटोहरु सार्वजनिक गर्दै अधिकारीले लेखेकी छन्, ‘आजका दिनसम्म मलाई कलाकारको रुपमा दिनुभएको माया, सद्भाव र समर्थनप्रति हार्दिक आभारी छु ।
कलाकारका रुपमा मेरा हरेक उतार चढावको साक्षी बन्नु भएकोमा मेरा प्रिय दर्शकसँग मेरो विवाहको शुभ समाचार बाँढ्न पाउँदा अत्यन्तै हर्षित छु । जीवनको नयाँ अध्याय सुरु गर्दै गर्दा म र मेरो जीवन साथीले उपहार स्वरुप यहाँहरुको आशिर्वादको अपेक्षा गरेका छौं । यहाँहरुको माया, साथ र सद्भाव हामी प्रति सदैव कायम रहने कुरामा हामी विश्वस्त छौं ।’
एक वर्षदेखिको प्रेमलाई उनीहरुले बिहेमा परिणत गरेका हुन् । बुधबार नै उनीहरुबीच बिहे भएको हल्ला चलेको थियो । तर हल्लालाई गलत प्रमाणित गर्दै उनीहरुले मेहेन्दीको तस्वीर सार्वजनिक गरेका थिए ।
फिल्मी करिअरमा पनि अफेयरका कुराहरू कहिल्यै सार्वजनिक रुपमा आउन नदिन केकीले सावधानी अपनाउने गरेकी छिन् । प्रेम र विवाहजस्ता कुराहरू सेलिब्रिटीको ‘प्राइभेसी’ भित्र पर्छन् भन्ने मान्यता राख्ने केकीले विवाह गरेकी छिन् ।
उनी यतिबेला फिल्म ‘बोक्सीको घर’ र ‘सिल्ली फो’ को प्रदर्शनको पर्खाइमा छिन्। व्यवसायी रोहित ‘हाम्रो बजार डटकम’ का प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा फुडमारियोका सह-संस्थापक एवम् सिइओ हुन्।
आफ्नो प्रतिक्रिया दिनुहोस् !