काठमाण्डौं :काठमाण्डौं महानगरपालिका प्रमुखको उम्मेदवारमा नेकपा एमालेले केशव स्थापितलाई उठाउने भएको छ। २०५४ सालमै काठमाडौं महानगर सम्हालिसकेका स्थापितलाई पाँच दलीय गठबन्धनको चुनौती चिर्ने गरी एमालेले टिकट दिने तयारी गरेको हो।
केशव स्थापित काठमाडौँ महानगरपालिकाका पूर्व नगर-प्रमुख हुन्। २०५४ सालको स्थानीय निर्वाचनमा उनी काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका स्थापितले “मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौँ” भन्ने नारा ल्याएका थिए। उनी मेयर भएकै बखतमा पशुपति क्षेत्र, माइतीघर, तीनकुने जस्ता ठाउँमा निर्माण भएका अव्यवस्थित घर-टहराहरू भत्काइएका थिए। केशव स्थापित राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा पुनः मेयर मनोनित भए।
उनी राष्ट्रिय खेलकुद परिषद्, नेपालका नवौँ सदस्य सचिव थिए। उनले वि.सं. २०५१ देखि वि.सं. २०५२ सम्म उक्त पदमा रहेर काम गरेका थिए। उनलाई सरकारले वि.सं. २०६९ सालमा काठमाडौँ उपत्यका विकास प्राधिकरणको प्रमुख आयुक्तमा नियुक्त गरेको थियो। नौ महिना नबित्दै उनलाई पदमुक्त गरेको थियो। आयुक्त काठमाडौँ उपत्यकाका पूर्वमेयर केशव स्थापित विसं २०१६मा काठमाडौँमा जन्मिएका हुन्।
हाल बागमती प्रदेशसभा सदस्य रहेका स्थापित २५ वर्षपछि फेरि काठमाडौं महानगरको बागडोर सम्हाल्ने बिन्दुमा पुगेका हुन्। स्थापितलाई काठमाडौं उठाउने औपचारिक निर्णय एमाले आगामी १० वैशाखमा बस्ने सचिवालय बैठकबाट गर्नेछ। काठमाडौंको प्रमुखका लागि एमाले नगर कमिटीले २ वैशाखमा ५ जनाको नाम सिफारिस गरिसकेको छ।
नगर कमिटीले वर्तमान प्रमुख विद्यासुन्दर शाक्य, संघीय सांसद रामवीर मानन्धर, प्रदेश सांसद केशव स्थापित, निर्मल देउला र नेकपा एकीकृत समाजवादीका प्रदेश सांसद वसन्त मानन्धरकी पत्नी इन्दिरा पन्तको नाम जिल्लामा सिफारिस गरेको थियो। यी ५ मध्येमा प्रमुखका लागि सबैभन्दा हेविवेट स्थापित नै हुन्। गठबन्धनको चुनौती चिर्न सक्ने सबैभन्दा बलिया मानिएका स्थापितलाई काठमाडौंको उम्मेदवार बनाउने सहमति भइसकेको एमाले उच्च स्रोतले बताएको छ।
केशव स्थापित अर्थात ‘कन्ट्रोभर्सी’ । ट्वीटरबाट चलेको मि टु अभियानको पहिलो ‘कन्ट्रोभर्सी’मा पनि उनै स्थापित परे । संघीयताको अभ्यासका क्रममा बनेको पहिलो प्रादेशिक सरकारको मन्त्रीबाट बर्खास्त हुनेमा पनि उनै परे । जहाँ केशव स्थापित हुन्छन्, त्यहाँ विरोधाभाष र अनेकौं किस्साहरु निस्किनु नेपाली राजनीतिमा सामान्य हो ।
यदि राजनीतिमा धैर्य, परिपक्वता र स्थिर हुन्थे भने केशव स्थापित आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को माथिल्लो नेतृत्वमा पुग्नुपर्ने व्यक्ति हुन् । किनकि ०४७ सालमा गठित तत्कालीन एमालेको भातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष केपी ओली हुँदा केशव स्थापित महासचिव थिए ।
ओलीपछि युवासंघको दोस्रो अध्यक्ष बनेका स्थापित आफ्नै स्वभावका कारण राजनीतिमा पछि परेनन् मात्र, धेरै विवादमा मुछिए । उनीभन्दा पछि युवा संघको अध्यक्ष बनेका अधिकांश युवा नेताहरु पार्टीको पदाधिकारी र स्थायी कमिटी अनि राज्यको मन्त्री बनिसक्दा स्थापितलाई भने प्रदेशमन्त्री पनि पचेन ।
मि टु अभियानको पहिलो तारो बनेका स्थापितमाथि काठमाडौं महानगरपालिकाकी पूर्वकर्मचारी रश्मिला प्रजापतिले लगाएको आरोपका कारण उनी रक्षात्मक अवस्थामा थिए । महानगरपालिकाले रश्मिलाको आरोप निराधार रहेको भनेर उनको बचाउ गरेका बेला स्थापित भने आफ्नाहरुबाट सहानुभूति लिनुपर्नेमा उल्टै मुख्यमन्त्री डोरमणि पौडेलसँग झगडामा उत्रिए ।
पूर्वमेयर स्थापितलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रदेश ३ को मन्त्री बनाएका थिए । मुख्यमन्त्री डोरमणि पौडेल उनलाई शुरुदेखि नै रुचाइरहेका थिएनन् । प्रदेशको सबैभन्दा महत्वपूर्ण मानिने भौतिक पूर्वाधार मन्त्री भएका स्थापितले विकास निर्माणमा धेरै काम गर्लान् भन्ने अपेक्षा थियो । तर, यसपटक उनी बेपर्वाह ढंगले प्रस्तुत भए ।
मन्त्रिपरिषद बैठकमा स्थापितको ‘जिरो परफरमेन्स’ को मूल्यांकन भएपछि सुधार गर्न लाग्नुपर्नेमा मुख्यमन्त्रीमाथि अभद्र ढंगले प्रस्तुत भए । क्याबिनेट बैठकमा सहभागी मन्त्रीहरुका अनुसार उनी पछिल्लो समय असन्तुलित र आबारा ढंगले प्रस्तुत हुने गरेका थिए । स्थापितप्रति सहानुभूति जनाउनुपर्ने ठाउँ कतै नदेखिएको उनीहरु बताउँछन् । सायद यो सबै बुझेर उनलाई बर्खास्त गर्ने मुख्यमन्त्री पौडेलको निर्णयलाई प्रधानमन्त्री ओलीले पनि समर्थन जनाए ।
राजनीतिबाट लगभग विस्थापित भइसकेका स्थापितलाई पुनर्स्थापित गर्ने श्रेय ओलीलाई नै जान्छ । वामदेव निकट रहेर राजनीति गरेका स्थापित वामदेव, ज्ञानेन्द्र शाह, माओवादी र संघीय समाजवादी फोरमको तिहुन चाख्दै ०७० को चुनावपछि पुनः तत्कालीन एमालेमा फर्किएपछि उनी ओलीसँग नजिक भएका थिए । तर, उनले नानीदेखिको बानी सुधारेनन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !