काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत एकै परिवारका दुईजनामा आइतबार हैजा संक्रमण पुष्टि भयो । आइतबार नै भर्ना भएका थप तीनजनाको एन्टिजेन परीक्षणमा हैजा पोजिटिभ देखिएको छ ।
अस्पतालमा पछिल्ला केही दिनयता दैनिक १० देखि २२ जनासम्म झाडापखालाका बिरामीको उपचार भइरहेको छ । पछिल्ला तीन महिना चैत, वैशाख र जेठमा मात्रै ४२५ जना झाडापखालाका बिरामीको उपचार भएको अस्पतालको तथ्यांक छ । हरेक वर्षको बर्खायाममा होस् या अन्तर्राष्ट्रिय स्तरमै फैलिएको महामारीको अवस्थामा, काठमाडौं संक्रामक रोगको डरलाग्दो हब (केन्द्र) बन्दै गएको छ ।
सन् २००२/००३ ताकाको कुरा हो, कडा मलेरिया, जापनिज इन्सेप्लाइटिस, हेपाटाइटीस बी, टाइफाइडजस्ता पानी र लामखुट्टेजन्य रोगको संक्रमण निकै उच्च थियो काठमाडौंमा । तराईका जिल्लाहरूबाट कालाजारका बिरामी बस नै रिजर्भ गरेर उपचारका लागि टेकु अस्पताल आइपुग्थे । कतिपय अवस्थामा अस्पतालका भित्तामा किला ठोकेर समेत स्लाइनका बोतलहरू राखेर उपचार गर्नुपर्ने अवस्था हुन्थ्यो ।
एकैदिन ४–५ जनाको मृत्यु हुन्थ्यो, एकै घण्टामा ३५ देखि ४० जना झाडापखालाका बिरामी भर्ना हुन्थे । अस्पतालको शैयाले नधान्ने भएपछि घण्टैपिच्छे त्यति नै संख्यामा बिरामी डिस्चार्ज गर्नुपर्ने हुन्थ्यो । चिकित्सकहरू ३–४ दिनसम्म पनि घर नगएर उपचार गर्नुपर्ने बाध्यता थियो ।
सन् २०१० पछि पानीजन्य रोगसँगै जनावर र किट तथा हावाबाट सर्ने रोगको प्रकोप बढ्दै गयो । सन् २०१० यता वर्षेनी १२ देखि १४ जनामा रेबिज संक्रमण देखिने गरेको छ, यो संख्या अहिले पनि उस्तै छ । त्यस्तै, सन् २०१५ यता निरन्तर बढेको डेंगु संक्रमणले २०१७ मा महामारीकै रूप लियो । सन् २०१८ मा मात्रै ४३ जिल्लामा डेंगु फैलियो भने २०१९ मा १ हजार ५३६ जनामा संक्रमण देखियो । त्यसमध्ये २५४ जना संक्रमित काठमाडौंमै भेटिएका थिए ।
यसरी पछिल्ला केही वर्षयता हावा र पानीजन्य संक्रामक रोगसँगै अन्य नयाँ नयाँ रोगहरूको संक्रमण बढ्दो क्रममा छ र यसको डरलाग्दो हब बनिरहेको छ, काठमाडौं उपत्यका । काठमाडौं उपत्यका संक्रामक रोगको हब बन्नुमा केही मुख्य कारकहरू छन्, तीमध्येको प्रमुख कारक हो अत्यधिक जनघनत्व ।
अव्यवस्थित सहरीकरण, अस्वस्थ पानी तथा खाना, मानिसको बाक्लो आवतजावत र स्वास्थ्यप्रतिको सजगता कम हुँदै जानु काठमाडौंलाई संक्रामक रोगको हब बनाउने थप कारक बन्दैछन् । यस अर्थमा अहिले ५ जनामा सीमित हैजा संक्रमण होस् या झाडापखाला । काठमाडौंमा महामारी निम्त्याउन यिनै रोगहरू पर्याप्त नहोलान् भन्ने अवस्था छैन, त्यसमाथि जनस्वास्थ्यमा घट्दो सजगता र बढ्दो लापरबाहीले संक्रमण समुदायस्तरमा फैलाउन थप भूमिका खेलिरहेको देखिन्छ ।
संक्रामक रोगको महामारी रोकथामका लागि सरकारको तर्फबाट गम्भीर प्रयास नहुनुले रोकथाम गर्नसक्ने प्रकोप पनि बढ्दै गएको छ ।
प्रत्येक बर्खायाममा संक्रामक रोगबाट नागरिकले ज्यान गुमाइरहँदा शुक्रराज ट्रपिकल तथा सरुवा रोगजस्ता प्रमुख अस्पतालहरूको स्तरोन्नति गर्न सरकारको जोडबल खोइ त ?
प्रकोप निम्त्याउन सक्ने रोगका रोकथामको पूर्वतयारीमा नीति निर्माताको ध्यान खोइ त ? संक्रामक रोगहरूमा विशेषज्ञहरूको आकर्षण पनि घट्दै त छैन ? यसमा सरकारको खोज अनुसन्धान खोइ त ? नयाँ नयाँ रोगले नागरिकको ज्यान लिइरहँदा तिनको खोज, अनुसन्धान र नियन्त्रणका लागि सरकारको योजना खोइ त ? अझैपनि संक्रामक रोगप्रति सबै तहबाट गम्भीर नहुने हो भने काठमाडौं संक्रामक रोगको अझै डरलाग्दो हब बन्दै जानेछ ।
(वरिष्ठ सरुवा रोग विशेषज्ञ तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट प्रमुख डा. शेरबहादुर पुनसँगको कुराकानीमा आधारित ।)
आफ्नो प्रतिक्रिया दिनुहोस् !