काठमाडाैं । सरकारले टिकटक बन्द गर्ने निर्णय गरेपछि यसको समर्थन र विरोध भइरहेका छन्। मन्त्रिपरिषदको गत कात्तिक २७ गतेको निर्णयअनुसार सरकारले नेपालमा टिकटक प्रतिबन्ध लगाएको थियो।
सरकारको उक्त निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा ११ वटा रिट परेको छ। योलगायत विभिन्न विषयमा हामीले सरकार प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग कुराकानी गरेका छौं:
सरकारले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध गर्नुको कारण के हो?
दुई-तीन वटा कारण छन्।
पहिलो- हामी कहाँ सामाजिक सञ्जालको प्रयोग अत्यधिक बढेको छ। यसका कयौं कुरा राम्रा छन्। कतिपय कुराले भने हाम्रो सामाजिक सद्भाव, पारिवारिक सम्बन्ध, सुरक्षा, संस्कृति, सभ्यता, संस्कार, समाजमा नराम्रो असर गरेको छ। जुन कुरा हामी सुन्न हेर्न सक्दैनौँ, जुन कुरा हाम्रो समाजले मान्यता दिदैन त्यस्ता कुरा अलिक बढी नै आए। त्यसको सबैभन्दा चर्को प्रयोग टिकटकमा भयो।
दोस्रो- निर्णयका हिसाबले टिकटक प्रतिबन्ध ‘सरप्राइज’ जस्तो देखिए पनि यो बन्द गर्न पर्यो भन्ने गुनासा सञ्चार, गृह र प्रधानमन्त्री कार्यालयमा लिखित र मौखिक रूपमा आइरहेका थिए। सर्वसाधारणको गुनासो थियो।
तेस्रो- पछिल्लो समय दुई-चार वटा घटना पनि घटे। नेपालगञ्ज, सर्लाही र धरानमा सामाजिक सद्भाव र शान्ति सुरक्षामा असर नै पुग्ने खालका घटनाहरू घटे। यसको मुख्य माध्यम टिकटक बन्यो। त्यसपछि नै अब टिकटकलाई कडाइपूर्वक नियमन गर्नुपर्छ भन्ने सरकारको धारणा बनेको हो। सार्वजनिक रूपमा उठेका गुनासाहरूमा गम्भीर भएर छलफल गर्दा बन्द गर्नु नै ठिक हुन्छ भन्ने निष्कर्षमा पुगेको हो।
सामाजिक सद्भाव खलबलिएको कुनै उदाहरण वा घटना छ?
धरानमा केही समयअघि सामाजिक द्वन्द देखिएपछि त्यहाँका मेयरले दिएका अभिव्यक्ति टिकटकमा लाइभ/प्रचार जसरी गरियो, त्यसले देशव्यापी रूपमा एउटा माहौल सिर्जना गर्यो। त्यसपछि नेपालगञ्जमा जे घटना घट्यो, टिकटक भिडिओबाट त्यो भाइरल भएको थियो। सर्लाहीमा पनि त्यस्तै किसिमको स्थिति बनेको थियो।
भिडियोमा बिस्तृतमा हेर्नुहोस्ः











आफ्नो प्रतिक्रिया दिनुहोस् !