काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी ओली संसदीय दलको नेतामा सर्वसम्मतिले चुनिनुभएको छ । एमाले सचिव योगेश भट्टराईका अनुसार उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा ओली दलको नेतामा निर्विरोध चयन हुनुभएको हो ।
कमलादीस्थित प्रज्ञा भवनमा बसेको एमाले संसदीय दलको बैठकले एमालेलाई लोकप्रिय मतमा पहिलो दल बनाएकोमा सम्पूर्ण मतदातालाई धन्यवाद ज्ञापन पनि गरेको थियो । एमालेको प्रतिनिधिसभा संसद्मा ७८ सांसद छन् । नेकपा एकीकृत समाजवादीले पनि संसदीय दलको नेतामा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई छनोट गरेको छ ।
आगामी सरकारमा आलोपालो प्रधानमन्त्री बनाउने सत्ता गठबन्धनको आन्तरिक सहमति दिएका दलहरूले पार्टी नेतृत्वलाई नै दलको नेता चयन गरेका छन् । समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादी पार्टीले प्रत्यक्षमा १० सिट जितेको छ ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्ष राजेन्द्र लिङ्देनलाई दलको नेतामा सर्वसम्मतिले छनोट गरेको छ । सरकार गठनअघि दलको नेता छनोट गर्नुपर्ने प्रावधानअनुसार अध्यक्ष लिङ्देनलाई पार्टीले सर्वसम्मतिमै संसदीय दलको नेता चयन गरेको राप्रपाले जनाएको हो । राप्रपाका १४ सांसद छन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकले सभापति रवि लामिछानेलाई सर्वसम्मतिले दलको नेता चयन गरेको छ । सोमबार बिहान बूढानीलकण्ठस्थित एक रिसोर्टमा बसेको दलको बैठकले लामिछानेलाई दलको नेता चयन गरेको हो । रास्वपाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ १३ गरी २० सिट जितेको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !