काठमाडाैं । नेपाल प्रहरीले कोभिडको तेस्रो भेरियन्ट ओमिक्रोन संक्रमित भएका प्रहरीहरुको स्वास्थ्य अवस्था भने जटिल नभएको जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले कोभिडको तेस्रो भेटियन्ट ओमिक्रोनबाट प्रहरीहरु पनि संक्रमित भएको तर स्वास्थ्य अवस्था जटिल नरहेको बताउनुभएको हो ।
उहाँले संक्रमितहरुको संख्या थपिदै गएपनि नेपाल प्रहरीको काममा भने प्रभावित हुने अवस्था नरहेको स्पष्ट पार्नुभयो । प्रवक्ता केसीले फ्रन्ट लाईनमा खेटिने प्रहरीहरुका लागि सहज ढंगले बुष्टर खोपको व्यवस्था मिलाइएको पनि बताउनुभयो ।
काठमाडौंमा नेपाल प्रहरी अस्पताल, पुलिस एकेडेमी र सरकारका तोकेको ठाउँहरुमा गएर पनि प्रहरीलाई बुष्टर खोप लगाउने व्यवस्था मिलाइएको छ । प्रवक्ता केसीले काठमाडौं बाहिरका तालिम केन्द्र, प्रदेश कार्यालयहरु, गुल्मलगायतका ठूलो संख्यामा प्रहरी कर्मचारीहरु रहेको ठाउँमा भने सोही ठाउँमा नै सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालयलाई अनुरोध गरेर बुष्टर खोपको व्यवस्था मिलाइएको बताउनुभयो ।
कोभिडको तेस्रो भेरियन्ट ओमिक्रोनबाट नेपाल प्रहरीमा ६७१ जना संक्रमित भएपनि कुनै पनि स्वास्थ्य जटिलता नदेखिएको प्रवक्ता केसीले बताउनुभयो ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !