काठमाडाैं । पूर्वसांसद लक्ष्मीदास मानन्धरको निधन भएको छ । साल्ट ट्रेडिङ लिमिटेडका अध्यक्षसमेत रहनुभएका उहाँको ९४ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो ।
राति सुत्न लागेका बेला वान्ता भएपछि मानन्धरलाई उपचारका लागि ह्याम्स अस्पताल धूम्बाराही लगिएको थियो । अस्पताल पुर्याएको केही बेरमा चिकित्सकले उहाँलाई मृत घोषणा गरेको लिमिटेडका प्रवक्ता ब्रजेश झाले जानकारी दिनुभयो । विसं २०२० भदौ २० गते लिमिटेडको स्थापना हुँदा उहाँ संस्थापक सञ्चालकका रुपमा रहनुभएको थियो ।
लिमिटेडको संस्थापक सञ्चालकमध्ये बिहीबारसम्म उहाँ एक जना मात्र जीवित हुनुहुन्थ्यो । लिमिटेडको स्थापना हुनुअघिदेखि नै मानन्धरले नुनको व्यापार गर्दै आउनुभएको थियो । नेपालमा नुनको व्यापार व्यवस्थित गर्न सरकारले लिमिटेडको स्थापना गरेपछि उहाँ त्यसको संस्थापक सञ्चालक बन्नुभएको हो ।
व्यवसायका साथै उहाँ नेकपा (एमाले) को राजनीतिमा पनि सक्रिय हुनुहुन्थ्यो । मानन्धरले नेपाल भाषाको सम्वर्द्धनमा पनि काम गर्नुभएको थियो । मानन्धरको आजै विष्णुमती किनारस्थित इन्द्रायणी मन्दिर परिसरमा धार्मिक विधिअनुसार अन्त्येष्टि गरिने बताइएको छ । अन्त्येष्टि अघि ठहिटीस्थित उहाँको निवासबाट शवयात्रा गरिने छ । मानन्धरका दुई छोरा र दुई छोरी हुनुहुन्छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !