काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले पुराना नेता प्रदीप नेपाललाई भेटेका छन् । बिहीबार सभामुखमा चुनिएका घिमिरे आइतबार नेता नेपालको निवास, गोठाटारमा पुगेका हुन् ।
भेटमा एमाले सांसद सूर्य थापा पनि सहभागी थिए । नेपाल पार्टीका अग्रज नेता र सभामुखका नातेदार पनि भएकाले उनीहरूबीच भेटवार्ता भएको थापाले बताए । घिमिरे नाताले नेपालका भान्जा पर्छन् ।
यो पनि हेर्नुस्ः ‘जहाज पुराना हुन्छन्, थोत्रा हुँदैन’
काठमाडौँ । विमान दुर्घटना भएपछि सधैँ एउटै भनाइ दोहोरिने गरेको छ । जहाज थोत्रा भएर दुर्घटना भयो । त्यस्ता, दुर्घटनामा मानवीय कमजोरी पनि औँल्याइन्छ अर्थात् विमानचालकको लापरबाहीले दुर्घटना भएको प्रतिवेदनमा सिफारिस हुन्छन् । कतिपय दुर्घटनामा विमानको इन्जिनको कमजाेरीलाई पनि औँल्याइन्छ ।
यही माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको कलसाइन नाइन–एएनसी (एटीआर–७२–२१२) विमान दुर्घटनामा चालक दलका सदस्यसहित ७२ मध्ये ७१ जनाको निधन भयो भने एक जनाको शव पहिचानको चरणमा छ । उक्त विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १८ मिटर पर सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो ।
तुलनात्मक रुपमा सुरक्षित मानिएको एटीआर विमान दुर्घटनामा परेपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको हवाई क्षेत्रप्रति चासो हुनु स्वभाविक हो । बुद्ध एयरका प्राविधिक निर्देशक मङ्गेश थापाले विमान दर्ताको हिसाबले पुरानो हुने तर थोत्रा नहुने बताए । “दुर्घटना विमानको ‘आयु’ सँग सीमित हुँदैन, सधैँ विमानलाई पुरानो भनेर दाँजिनु पनि हुँदैन, विमानको विभिन्न तहमा समयसमयमा पाटपूर्जा फेर्नुपर्छ, ‘नियमित मर्मतसंहार गरेर उडानयोग्य’ अवस्थामा राख्नुपर्छ, समय पुगेपछि इन्जिन र साइकल फेरिन्छ”, उनले भने ।
विमान ‘निश्चित सयमा’ मा ‘पार्टपूर्जाहरू’ फेरेर मर्मत गरी उडान योग्य अवस्थामा राखिने गरेको छ । निश्चित समय पुगेपछि विमानको इन्जिन फेरिन्छ । विमानको ‘साइकल’ पनि परिवर्तन गरिन्छ । ‘जुन विमान कति घण्टा उड्यो र कति साइकल भयो’ सोही आधारमा समय समयमा मर्मत गरिन्छ । विमानमा एक ‘टेकअफ’ मा एक साइकल हुन्छ । विज्ञहरूका भनाइमा एटीआर जहाजको ७० हजार साइकल पूरा भएपछि उडाउन नपाइने नियम छ । त्यो जहाजको इन्जिन राम्रो भए पनि सञ्चालन गर्न पाइँदैन ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !