काठमाडौं । यौन उत्पीडनमा परेकी एक युवतीको दर्दनाक बयानले यति बेला सामाजिक सञ्जाल र समाजलाई हल्लाइदिएको छ । स्थानीय निर्वाचनलाई नै ओझेलमा पार्ने गरी सडकदेखि सांसदसम्म उनलाई न्यायको माग गर्दै आवाजहरू गुन्जिएका छन् ।
आठ वर्ष अगाडि सन् २०१४ मा आयोजना भएको मिस ग्लोबल इन्टरनेसनल प्रतियोगिताका आयोजक मनोज पाण्डेले आफूमाथि ब-लात्कार गरेको आरोप युवतीले लगाएकी छन् । ती युवतीको भनाइअनुसार सक्सेस पार्टीको बहानामा बोलाएर एभरेस्ट होटेलको एउटा कोठामा उनीमाथि ब-लात्कार गरिएको थियो । त्यसपछि आफूसँग शारीरिक सम्बन्धको फोटो\भिडियोहरू रहेको भनेर ब्ल्याकमेलिङ गर्दै पिडकले ६ महिनासम्म निरन्तर यौ-न शोषण गरेको युवतीको बयान छ ।
उनको कथा यति मात्र छैन । युवतीका अनुसार उनी जो–जो पुरुषसँग नजिक भइन्, उसैबाट यौ-न शोषणमा परिन् । २०१४ यता ४ जना ब्वाइफ्रेन्ड बनाएको र उनीहरू सबैले आफूसँग शारीरिक सम्बन्ध राखेर ‘एब्यूज’ गरेको उनले बताएकी छन् । निरन्तर यौ-न शोषणका कारण आफू डिप्रेसनमा परेको र आत्महत्या प्रयाससमेत गरेको उनको भनाइ छ । भिडियोमा निकै ‘एरोगेन्ट’ देखिएकी युवतीले आवेशमा प्रशस्त अमर्यादित शब्दहरू पनि प्रयोग गरेकी छन् ।
अब प्रवेश गरौँ मिस ग्लोबल इन्टरनेसनलमा । यो प्रतियोगिताको पाचौं संस्करण आर्मी अफिसर्स क्लबमा २०१४ को सेप्टेम्बर ३ मा आयोजना भएको थियो । त्यही नै अन्तिम संस्करण बन्यो । आयोजकमाथि नै यौन शोषणको गम्भीर आरोप लागेपछि अर्को वर्षदेखि प्रतियोगिता बन्द भयो ।
पाचौं तथा अन्तिम संस्करणमा निशा पाठक विजेता बनेकी थिइन् भने सुस्मिता रेग्मी फर्स्ट रनरअप र अर्चना पन्थी सेकेन्ड रनरअप भएका थिए । प्रतियोगिताको केही दिनपछि एभरेस्ट होटेलमा सक्सेस पार्टी आयोजना गरिएको थियो । उक्त पार्टीमा पूर्व मिसनेपाल माल्भिका सुब्बा उपस्थित थिइन्, जोमाथि युवतीले आफूलाई सहयोग नगरेको गुनासो पोखेकी छन् । पारस खड्का लगायतका केही क्रिकेटर पनि पार्टीमा थिए ।
हेर्नुहाेस् सक्सेस पार्टीका केही तस्बिरहरू :
सोही पार्टीको दिन आफूमाथि प्रतियोगिता आयोजक पाण्डेले बलात्कार गरेको आरोप पिडित युवतीले लगाएकी छन् । करिब ६ महिनासम्म ब्ल्याकमेलिङ गर्दै आफूमाथि पटक–पटक पाण्डेले बलात्कार गरेको युवतीले बताएकी छन् ।
त्यस रातको घटना युवतीले यसरी बयान गरेकी छन् :
‘विनर भइसकेपछि एक दिन पिडकले मलाई फोन गरेर भन्यो कि तिमी रेडी भएर आऊ, किनकि हामी सक्सेस पार्टी आयोजना गर्न गइरहेका छौँ । म रेडी भएर एभरेस्ट होटेलमा पुगेँ । तर, त्यहाँ कोही पनि देखिनँ । खोइ त सबै जना भन्दा उसले भन्यो– तिमी चाँडै आयौँ, ६–७ बजे पार्टी स्टार्ट हुन्छ । अहिले बस्दै गर ।
धेरै बेरपछि वेटरले आएर मलाई लेमनेड (कागतीको जुस) अफर गर्यो । लेमनेड विथ आइस । यो कुनै ड्रिंक पनि थिएन । उसले वेलकम ड्रिंक हो भन्यो र मैले पिएँ । त्यसको १०–१५ मिनेटपछि मलाई अलि झुम्म भयो । ‘मलाई अलिक कस्तो भयो, घर जान चाहन्छु’ भनेँ । तर उसले गाली गर्यो । तिमी विनर भएर पार्टीमा नबसेर हुन्छ ? अरूले के भन्छन् ? मिडियाले के भन्छन् ? भनेर प्रेसर गरेपछि मलाई पनि कुरा ठिकै लाग्यो । त्यसपछि उसले भन्यो– पार्टीमा केटीहरूले ड्रिंक गरेर बेहोस हुन सक्छन् भनेर एउटा रुम लिएर राखेको छु, तिमी त्यहीँ गएर रेस्ट गर्दै गर । सबै जना आएपछि उठाउन कसैलाई पठाउँछु भन्यो ।
म त्यो रुममा गएँ । त्यसपछि म सम्झिन्छु, मेरो घरीघरी मात्र होस खुलिरहेको थियो । उ मभित्र छ । मलाई त्यस्तो गरिरहेको छ । घरीघरी मात्रै होसमा आउँथे म । उ त्यस्तो गरिरहेको हुन्थ्यो । एकदमै पिडा भइरहेको थियो बेहोसीमा पनि । बिहान साढे चार–साढे ५ बजेतिर मेरो पूरा होस खुल्यो । त्यो व्यक्ति मेरो छेउमा नांगै सुतिरहेको देखेँ । म पनि नग्न छु । ओछ्यानमा रगत लतपतिएको छ । म चिच्याएँ, कराएँ । त्यो मान्छेले मलाई ब्यागमा २० हजार रुपैयाँ राखिदिएको छु, लैजाऊ भन्यो । म ऐना हेर्दै रोइरहेकी थिएँ । उसले नै ट्याक्सी बोलायो । म लुगा लगाएर ब्याग बोकेर हिँडेँ ।
युवतीको यो दर्दनाक बयानमा एउटा गम्भीर विरोधाभास भने भेटिन्छ । उनले प्रतियोगिताको सक्सेस पार्टीका दिन घटना भएको बताएकी छन् । यद्यपि, एभरेस्ट होटेलमा भएको सक्सेस पार्टीमा उनी सकुशल सहभागी भएकी थिइन् । मिस ग्लोबलले २०१४ को सक्सेस पार्टी भनेर फेसबुकमा राखेका तस्बिरहरू अहिले पनि यथावत् छन्, जसमा उनलाई पनि देख्न सकिन्छ । उनी पार्टीमा सामान्य अवस्था नै प्रस्तुत भएको त्यस बेलाका एक प्रत्यक्षदर्शीले बताए । सक्सेस पार्टी सकिएपछि घटना भएको उनको बयानबाट बुझिँदैन ।
प्रश्न उठ्छ सक्सेस पार्टी त्यस दिन नभएर बलात्कारको घटनाभन्दा अघि वा पछि भएको हो त ? यदि त्यसअघि नै पार्टी भइसकेको थियो भने सक्सेस पार्टी भनेर उनलाई बोलाइने थिएन । पछि भएको थियो भने उनी जाने थिइनन् । साथै, बलात्कारीले दिएको २० हजार रुपैयाँ उनले फिर्ता नगरी किन बोकेर हिँडिन् भन्ने पनि खुलेको छैन । यस्ता अप्रष्टतालाई उनले प्रहरीलाई प्रस्ट्याउलिन् नै ।
अफेयर र शोषणका श्रृंखला
एक महिना चलेको मिस ग्लोबल इन्टरनेसनल प्रतियोगिताका क्रममा युवती आयोजक संस्थाका पाण्डेसँग नजिकिएकी थिइन् । त्यस बेला उनीहरूबिच अफेयरको हल्ला पनि चलेको थियो । युवतीले पाण्डे विवाहित भएको कुरा केही पछि मात्रै थाहा पाएकी थिइन् । तर, युवती आफैँले बताएअनुसार उनी त्यस बेला खड्का थरका युवकसँग औपचारिक रिलेसनसीपमा थिइन् ।
आफूमाथि भएको यौन उत्पीडनबारे प्रेमीलाई बताएपछि उनले साथ दिएको युवतीको भनाइ छ । उनी आफ्नो प्रेमीलाई लिएर पाण्डेको कन्सल्टेन्सीमा पुगेकी थिइन् । त्यहाँ उनका प्रेमीले पाण्डेलाई कुटेका थिए । त्यसपछि पाण्डेले अब आइन्दा यो प्रतियोगिता नै आयोजना नगर्न सहमति जनाएका थिए ।
युवतीका अनुसार उनले सुरुमा कानूनी प्रक्रियामा जाने सोच बनाए पनि खड्का प्रेमीले नजान सल्लाह दिएका थिए । पछि खड्काले नै आफूमाथि शंका गरेपछि प्रेमी बदलेको उनले बताएकी छन् । त्यसपछि बनाएका तीन प्रेमीबाट पनि उनलाई राहत मिलेन । एक प्रेमीले त आफूलाई पब्लिक रेस्टुरेन्टमा नै अप्राकृतिक क्रियाकलाप गर्न लगाउने गरेको पीडा उनले उजागर गरेकी छन् ।
सचेतनाको आवश्यकता
बयानमा तलमाथि हुन सक्ला, तर आफूमाथि भएको यौन शोषण सार्वजनिक गर्ने हिम्मत गर्नु नै ठूलो कुरा हो । यस्तो विषयलाई बाहिर ल्याउनका निम्ति कुनै पनि केटी मान्छेले ठूलो साहस जुटाउनुपर्छ । समाज जति आधुनिक बने पनि एउटी बलात्कृत केटीलाई सम्मानित नजरले हेर्ने चेतनास्तर अझै विकास भइसकेको छैन ।
उमेरगत अपरिपक्वता र लोकलाजका कारण पीडित युवती समयमै कानूनी लडाइँमा जान सकिनन् । अहिले आएर उक्त घटनामाथि मुद्दा चल्ने आधार कमजोर बनेको छ, किनकि नाबालिग बलात्कारको हदम्याद एक वर्ष मात्र हुन्छ । यद्यपि कम्तीमा उनले आफूलाई हलुका बनाइन् र समाजलाई झकझक्याइन् ।
यो भिडियो श्रृंखला हेरिसकेपछि हरेक बाबुआमालाई चिन्तित र व्यग्र बनाउँछ । के बुबाआमाले आफ्ना छोरीहरूलाई एक्लै घरबाट बाहिर पठाउनै नसक्ने अवस्था आइसकेको हो त ? के समाज यति विद्रूप भइसक्यो ? प्रश्नहरू उब्जिन्छन् । एक नाबालिग गायिकामाथि चर्चित सेलिब्रिटीबाट भएको यौन शोषणको घटना सेलाएको छैन । उक्त घटनामा समाज पीडित र पिडकको पक्षमा विभाजित थियो । तर, अहिलेको घटनामा भने पीडित युवतीतिर सबैको सहानुभूति सोहोरिएको छ । बलात्कारको मुद्दामा हदम्याद राख्नु ठिक हो कि होइन भन्ने पनि बहस भइरहेका छन् ।
नेपालको संविधान र कानून महिलाको पक्षमा निकै कठोर छ । यौनजन्य अपराधका घटनाहरूमा कडाभन्दा कडा सजायको व्यवस्थाहरू गरिएका छन् । त्यसका बाबजुद पनि महिला हिंसाका घटनाहरूमा कमी आएको छैन । त्यसैले समस्या कानूनको भन्दा पनि चेतनाको हो । यदि यी पीडितलाई आफूमाथि भएको अपराध विरुद्ध बेलैमा कानूनी उपचारमा जानुपर्छ भन्ने चेतना र ज्ञान भएको भए पक्कै पनि ८ वर्षसम्म पिडा लुकाएर बस्ने थिइनन् । पिडक अहिले जेलमै हुन्थे ।
यो घटनाले बालिका र किशारीहरुलाई यौन अपराध सम्बन्धी कानूनी शिक्षाको टड्कारो आवश्यकता देखाएको छ । साथै, उमेर नपुगेसम्म सकभर प्रेम नपर्न र परेको खण्डमा पनि शारीरिक सम्बन्धबाट टाढा रहने सचेतना हरेक बाबुआमाले आफ्ना सन्तानलाई दिनु आवश्यक देखिएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !