कर्णाली प्रदेश अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरू गर्ने भएको छ।
अस्पतालले अब सुर्खेतमै रहेको प्रदेश अस्पतालको भवनबाट मिर्गौला प्रत्यारोपण सेवा सुरू गर्न लागेको अस्पतालका निर्देशक प्राध्यापक डा. डम्बर खड्काले जानकारी दिए।
उनका अनुसार यही साताको शनिबारदेखि मिर्गौला प्रत्यारोपण सेवा सुरू गर्न लागिएको हो। यसका लागि अस्पतालमा आवश्यक संरचना तयारी अवस्थामा रहेको खड्काले जानकारी दिए।
‘अहिले हामीसँग संरचना र मेसिन तयारी अवस्थामा छन्, अब आगामी शनिबारदेखि सेवा सुरू हुन्छ,’ उनले भने, ‘सुरूमा मिर्गाैला प्रत्यारोपण केन्द्रबाट विशेषज्ञ आएर सेवा सुरू गर्नुहुन्छ, त्यसपछि बाँकी जनशक्ति र सेवा यतैबाट विस्तार गर्ने प्रस्ताव गरिरहेका छौं।’
निर्देशक खड्काका अनुसार शनिबार मिर्गौला प्रत्यारोपण गर्ने कार्यका लागि स्वास्थ्यकर्मी र बिरामीसमेत काठमाडौंबाट आउने छन्।
‘अहिले नेपाल सरकारले बनाएको मिर्गौला प्रत्यारोपणसम्बन्धी कानुनी व्यवस्था पूरा गरेर बिरामी पनि काठमाडौंबाटै आउनुहुन्छ, विशेषज्ञ पनि मिर्गौला प्रत्यारोपण केन्द्रबाटै आउने हो,’ खड्काले भने, ‘पछि हामीले यहीँ जनशक्ति तयार गर्ने र तत्कालका लागि सहयोग गर्ने कुरा केन्द्रलाई भनेका छौं।’
मिर्गौला प्रत्यारोपण सेवाका लागि तत्काल आवश्यक जनशक्ति उपलब्ध भए पनि दीगोपनाका लागि केन्द्रबाट चासो दिनुपर्ने निर्देशक खड्काले बताए।
आफ्नो प्रतिक्रिया दिनुहोस् !