दाङमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
रोल्पाबाट घोराहीतर्फ आउँदै गरेको रा १ झ १९७ नम्बरको एम्बुलेन्सले विपरीत दिशातर्फ जाँदै गरेको रा ६ प ८९८५ नम्बरको मोटरसाइकललाई घोराहीको दामोदर चोकमा आइतबार राति ९ बजेतिर ठक्कर दिएको थियो।
दुर्घटनामा परी मोटरसाइकल चालक घोराही उपमहानगरपालिका वडा नं. १० का ४५ वर्षीय पूर्ण मगर गम्भीर घाइते थिए। घाइते मगरलाई उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि राति नै भैरहवा मेडिकल कलेज रिफर गरिएको थियो।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार घाइते मगरको उपचारका क्रममा सोमबार बिहान दुई बजेतिर मृत्यु भएको जानकारी परिवारले दिएको बताए।
मृतकको शव घोराहीमा पोष्टमर्टमपछि आफन्तले बुझेका छन्। एम्बुलेन्स चालक रोल्पाको त्रिवेणी गाउँपालिका २ का २८ वर्षीय निर्मल बुढा प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !