काठमाण्डौं ।
अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ‘जेन्टल एग्रिमेन्ट’ भएको दाबी गरिएको छ । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले सुरुमा नै एमसीसी परियोजना एमालेकै सरकारको पालामा संसद्मा दर्ता भएको योजना भएकाले सो परियोजनालाई सरकारले टुंगोमा पु-याउन अघि बढेको भन्दै सघाउन आग्रह गरेका थिए ।
प्रधानमन्त्री देउवाको सो आग्रहपछि एमाले अध्यक्ष ओलीले आफ्नो दलले विगतदेखि नै केही राजनीतिक मुद्दाको माग राखेर संसद्मा अवरोध जारी राखेकाले ती माग पूरा गर्नेतर्फ सरकारले सहज वातावरण बनाए एमसीसीमा सघाउने बताएको स्रोतको दाबी छ । उच्च स्रोतका अनुसार एमसीसीमा एमालेले सघाउने विषयमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्षबीच ‘जेन्टल एग्रिमेन्ट’ नै भएको छ ।‘आजको राजधानी दैनिकमा समाचार छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग एमसीसी अनुमोदनमा सहयोग गर्न आग्रह गरेका छन् । मंगलबार साँझ बालुवाटार पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग प्रधानमन्त्री देउवाले करिब २ घण्टा छलफल गरेका थिए । नेकपा एमालेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले प्रधानमन्त्रीले गठबन्धनभित्रबाट आफूलाई असहयोग भएकाले प्रतिनिधि सभामा प्रस्तुत एमसीसी अनुमोदनमा सहयोगका लागि आग्रह गरेको जानकारी दिए ।
‘भेटका क्रममा प्रधानमन्त्रीज्यूले हाम्रो पार्टीसमक्ष सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत (एमसीसी) अनुमोदनमा सहयोगका लागि आग्रह गर्नुभयो’ रिजालले भने । एमाले अध्यक्ष ओलीले भने आफूहरुको माग सम्बोधन नभएसम्म संसदीय प्रकृयामा प्रवेश नगर्ने बताएको उनको भनाइ छ । ‘हाम्रा पार्टी अध्यक्ष कमरेडले आफ्नो पार्टीले विगत छ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः स्पष्ट पार्नुभएको छ’ उनले भने ।
भेटवार्ताा अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षविष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी सहभागी थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !