काठमाडौ । नेपालमा फेरी कोरोना भाइरसको जोखिम बढेपछि सरकारले पनि चासो देखाउन थालेको छ । गृहमन्त्रालयले कोरोना जोखिम बढेको भन्दै कडाई गर्न मुलुकभर सर्कुलर जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम बढेको निष्कर्ष निकाले पछि गृहले सबै जिल्लालाई कडाई गर्न निर्देशन दिँदै पत्र पठाएको छ । स्वास्थ्य मन्त्रालयले आइतबार सूचना जारी गर्दै कोरोनाको जोखिम बढेको जनाएको थियो ।
स्वास्थ्यको सोही सूचना पछि गृहले सबै जिल्ला प्रशासनलाई थप तयारी थाल्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए। गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमा आवश्यक तयारी गर्न, स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन निर्देशन सबै जिल्ला प्रशासन कार्यालयमा निर्देशन सहितको सर्कुलर जारी गरेको जनाएको छ ।
भारतमा कोरोना संक्रमितको संख्या थपिदै जान थालेका छन् । यस अघिको कोरोना भन्दा दोस्रो लहरको कोरोनोको जोखिम र खतरा अत्याधिक रहेको निष्कर्ष पनि स्वास्थ्यकर्मीले जनाएका छन् । गृह मन्त्रालयले भारतीय सीमानाकामा थप कडाइ गर्न निर्देशन दिएको छ । यस्तै क्वारेन्टिन र आइसोलेसन सेन्टरहरु पनि पुनः तयारी अवस्थामा राख्न भनिएको छ।
स्वास्थ्य मन्त्रालयले आइतबार सूचना जारी गर्दै भारतका विभिन्न प्रान्तमा कोराना बढिरहेको र नेपालमा पनि जोखिम बढ्ने भएकाले थप सतर्कता अपनाउन आग्रह गरेको थियो। भारतीय सीमानाबाट नेपाल भित्रिनेको अनिवार्य तथ्यांक राख्न र ज्वरो नापेर शंकास्पद व्यक्तिलाई क्वारेन्टिनमा राख्न गृह मन्त्रालयले निर्देशन दिएको छ।
त्यस्तै यस अघि अपनाए जस्तै ‘भीडभाड नगर्न र नगराउन, मास्क सेनिटाइजर अनिवार्य प्रयोग गर्न लगाउन पनि गृहमन्त्रालयले निर्देशन जारी गरेको छ । निर्देशन पालना नगर्नेलाई कारवाही गर्न पनि निर्देशन दिएको छ । स्वास्थ्य जाँच गराउने, शंकास्पद देखिए क्वारेन्टिनमा राख्ने, जिल्लाका क्वारेन्टिन तथा आइसोलेसन सेन्टर पुनः एक्टिभ बनाउन र सचेतनाका कार्यक्रम गर्न पनि गृहले निर्देशन दिएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !