काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र भारतीय अभिनेता सलमान खानबीच आज भिडियो सम्वाद हुने भएको छ । भारतीय अभिनेता खान आगामी जेठ १८ गते काठमाडौंको दशरथ रंगशालामा हुने ‘दबङ लाइभ इन नेपाल’ कार्यक्रमका लागि नेपाल आउन लागेका हुन् ।
सोही कार्यक्रमलाई लक्षित गरी आज दिउँसो ३ बजे मन्त्री आलेले अभिनेता खान सँग भिडियो सम्वाद गर्ने कार्यक्रम तय भएको मन्त्री आलेका स्वकीय सचिवालयले जनाएको छ । अभिनेता खान नेपाल आउने कार्यक्रमलाई नेपालको पर्यटन प्रवद्र्धनका लागि कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर मन्त्री आलेले खान सँग सम्वाद गर्नुहुने कार्यक्रम तय भएको हो ।
दुई वर्ष अघि नै अभिनेता खानको नेपाल आउने कार्यक्रम तय भएको थियो । तर कोभिड–१९ को उच्च जोखिमका कारण रोकिएको उनको कार्यक्रम पुन : हुने भएको हो । ओडिसी इन्टरटेनमेन्टले सो कार्यक्रमको आयोजना गर्न लागेको बताइएको छ ।
आगामी जेठ १८ मा हुने कार्यक्रममा अभिनेता खानसँगै अन्य भारतीय कलाकार पनि नेपाल आउने बताइएको छ । भारतीय अभिनेता खान नेपाल आउँदा पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !