काठमाडौं :
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नेकपा माओवादी केन्द्रसँग सकारात्मक रूपमा छलफल अघि बढेको बताएका छन् । बिहीबार साँझ माओवादी केन्द्रसँगको बैठकपछि संसद भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा नेता नेम्वाङले छलफललाई निरन्तर अघि बढाउने छसहमति भएको बताए ।
माओवादीसँग पुनः सहकार्य हुन लागेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा भने उनले परिस्थिती त्यो लेभलमा नपुगेको बताए । उनले धेरै समय पश्चात् यो तहमा गम्भिर भएर छलफल भएको भन्दै उनले माओवादीसँग पुनः छलफल गर्दै जाने बताए ।
नेम्वाङले एमसीसीबारे छलफल भइरहेको भन्दै उपयुक्त विन्दुमा पुगेर निर्णय गर्ने बताए । उनले आफूहरु खुत्रुके जस्तो सबै कुरा सकिएपछि फुटाएर काम चलाउने पक्षमा नरहेको भन्दै उनले संविधान र पद्धतिसँग आफूहरु नजिक रहेको बताए ।
‘अध्यक्ष ओलीको भाषामा भन्दा हामी हामी खुत्रुकै होइनौँ, सबै कुरा सिदिएपछि फुटाएर काम चलाउने,’ नेम्वाङले भने, ‘हामी यो देशको संविधान र सिस्टमसँग नजिक छौँ ।’
एमसीसी र संसद खुलाउने विषयमा एमालेसँग छलफल भयो : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी र सदन खुलाउने विषयमा एमालेसँग छलफल भएको बताएका छन् । बिहीबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुसँगको छलफलबाट बाहिरिने क्रममा क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले छलफलका क्रममा आ-आफ्ना कुरा राखिएको बताए ।
‘एमसीसी र सदन खुलाउने विषयमा छलफल भयो । आ-आफ्ना कुरा राखियो ‘ प्रचण्डले भने ।
माओवादीसँग छलफल गर्नुअघि एमालेले सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेससँग छलफल गरेको थियो भने प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच ‘वान अन वान’ कुराकानी भएको थियो । प्रचण्डसँगको भेटवार्तापछि एमाले नेताहरु देउवासँगको छलफलका लागि बालुवाटार प्रस्थान गरेका छन् ।
एमसीसी सम्झौतालाई लिएर पछिल्लो समय सत्ता गठबन्धनमा दरार आएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !