काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको शुक्रबार दिउँसो बालुवाटारमा बसेको बैठक तिक्ततामा अन्त्य भएको छ ।
राष्ट्रपति पदमा आफ्नो दाबी लिएर प्रधानमन्त्री निवास पुगेका नेकपा एमालेले नपाउने भएपछि अध्यक्ष ओली बालुवाटारबाट रित्तो हात फर्कन बाध्य भएका हुन् । शुक्रबार साँझ बसेको आठ दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिउँसो अध्यक्ष ओलीसँग भएको भेटवार्ताबारे ब्रिफिङ गरेका थिए ।
ब्रिफिङमा प्रधानमन्त्री प्रचण्डले आफूले अध्यक्ष ओलीलाई राष्ट्रिय सहमतिका लागि मनाउन नसकेको जानकारी नेताहरूलाई दिएको लोकतान्त्रिक समाजवादीका नेता राजेन्द्र महतोले जानकारी दिए ।महतोका अनुसार अध्यक्ष ओलीले प्रधानमन्त्रीसँगको भेटमा पुस १० मा भएको सहमति स्मरण गराउँदै आफूले पाउनुपर्ने अडान दोहोर्याएका थिए ।
यता प्रधानमन्त्री प्रचण्डले सबै दलले एक–एक वटा महत्त्वपूर्ण पद लिएको र राष्ट्रिय सहमति गर्ने हो भने कांग्रेसलाई राष्ट्रपति पद दिन उपयुक्त हुने कुरा ओलीसमक्ष राखेका थिए । तर, ओलीले आफूले पूर्व सहमति अनुसार राष्ट्रपति पद नपाए भोलि नै सरकारबाट बाहिरिने चेतावनी प्रधानमन्त्रीलाई दिएका थिए ।
‘मैले एमालेलाई मनाउन सकिनँ,’ प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै महतोले भने, ‘त्यसपछि ओलीजी रिसाएर बैठकबाट बाहिरिनुभयो ।’
आठ दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले सहमतिका लागि ओली समक्ष राखेको कांग्रेसलाई राष्ट्रपति दिनुपर्ने प्रस्ताव दोहोर्याएका थिए । ‘३२ सिट भएको माओवादीले प्रधानमन्त्री लिएको छ, एमालेले सभामुख पाएको छ, राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पाएको छ ।
राष्ट्रिय सहमति गर्ने हो भने संघीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले राष्ट्रपति पाउनुपर्ने उपयुक्त देखिन्छ,’ प्रधानमन्त्री प्रचण्डको भनाई थियो । आठ दलको बैठकले भने प्रधानमन्त्रीको प्रस्तावलाई समर्थन जनाएको थियो । यसअघि राष्ट्रपति पदमा दाबी गर्दै आएको एकीकृत समाजवादी समेतले प्रधानमन्त्रीको प्रस्तावमा स्वीकृति जनाएको महतोले बताए ।
सबै दलले आफ्नो प्रस्तावमा समर्थन जनाएपछि प्रधानमन्त्री प्रचण्डले अब पुस १० को कोर्स करेक्सन भएको घोषणा गरेका थिए । कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णयसँगै आजैबाट नयाँ राजनीतिक यात्राको सुरुवात भएको प्रधानमन्त्रीको भनाई थियो । उनले यसलाई अघि बढाउन, समृद्धि ल्याउन र एकताबद्ध भएर जान सबैलाई आग्रह गरेको नेकपा एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका प्रकाश ज्वालाले जानकारी दिए ।
ओलीसँग प्रचण्डको गुनासो
बैठकमा प्रधानमन्त्री प्रचण्डले शीर्ष नेताहरूसँग एमाले अध्यक्ष ओलीसँगको गुनासो समेत पोखेका थिए । ‘ओलीजीसँग सहकार्यका लागि धेरै प्रयास गरेँ । तर, सत्तारुढ गठबन्धनभित्र रास्वपा र राप्रपासँग छुट्टै साँठगाँठ गरेर ममाथि अनावश्यक दबाब दिने काम भयो,’ बैठकमा सहभागी एक नेताले प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै भने, ‘मलाई काम गर्नै दिएनन् । उहाँले फेरि एउटा अवसर गुमाउनुभयो । उहाँको दम्भले गर्दा नै कोर्स करेक्सन गर्न बाध्य भएँ ।’











आफ्नो प्रतिक्रिया दिनुहोस् !