हिट फिल्मी गीत ‘सिम्पल सिम्पल कान्छीको’को सिक्वेल आउने भएको छ ।
शंकर अधिकारी ‘घायल’को शब्द रचना रहेको ‘सिम्पल सिम्पल कान्छीको’को गीतमा बसन्त सापकोटाले संगीत गरेका थिए भने दिपक लिम्बु र माण्डबी त्रिपाठीको स्वरमा समावेश उक्त गीत झण्डै १४ वर्षअघिको फिल्म ‘अन्जाज’मा निकै हिट भएको थियो ।।
गीतकार शंकरले उक्त गीतको सिक्वेलका रुपमा ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पुरेछ’ रेकर्ड भएको जानकारी दिएका छन् । बिहीवार मात्रै रेकर्ड भएको गीतका शब्द शंकरले कोरेका हुन् भने संगीत र एरेन्ज बाबुल गिरीको छ । दिपक लिम्बु र नित्याशिवाको स्वरमा यो गीत रेकर्ड भएको छ ।
शंकरको शब्द, बाबुलको संगीत र स्वर रहेको फिल्मी गीत ‘सिरुपाते जुँगामा’ यतिबेला चर्चामा छ । उक्त गीत हिट भएसँगै उनीहरूबीच पुन: साङ्गीतिक सहकार्य भएको हो । सिम्पल सिम्पल कान्छीको’को सिक्वेल गीत फिल्ममा भने समावेश नहुने गीतकार शंकरले बताए ।
‘फिल्मका लागि मानिएको त छ । तर यो गीत एल्बमका लागि भनेर रेकर्ड गरेका हौं’ उनले लोकान्तरसँग भने, ‘गीतको भिडियो ओएसआर डिजिटलले निर्माण गर्नेछ ।’
‘सिम्पल सिम्पल कान्छीको’ त्यसबेला निकै रुचाइएको स्मरण गर्दै उनले सिक्वेललाई पनि स्रोता दर्शकले रुचाउने बनाउने प्रयास रहने बताए ।
‘त्यसबेला अहिलेजस्तो युट्युबको जमाना थिएन् । रेडियोमा बजेको भरमा गीत हिट भएको सम्झना छ’ शंकरले भने, ‘आज रेकर्ड भएको यसको सिक्वेल गायक/गायिकाले राम्रो गाउनुभएको छ । राम्रो बन्ने विश्वास छ ।’भिडियो तयार भएर एक महिनाभित्रमा गीत सार्वजनिक हुने बताइएको छ । गायक दिपक लिम्बुले आफ्नो हिट गीतको सिक्वेलमा स्वर दिन पाउँदा खुशी लागेको र गीत पनि राम्रो रहेको बताए ।











आफ्नो प्रतिक्रिया दिनुहोस् !