काठमाडौं । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवासमा सत्तारुढ गठबन्धनका शीर्षस्थ नेताको बैठक बस्यो । बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए ।
देउवा प्रधानमन्त्री भएपछि बालुवाटारमा पहिलो पटक बसेको सत्तारुढ गठबन्धनको बैठकमा केही फरक दृश्य देखियो । दुई जना पूर्व प्रधानमन्त्री (प्रचण्ड र नेपाल) र दुई जना पूर्वउपप्रधानमन्त्री (यादव र केसी) सँगको भेटमा प्रधानमन्त्री देउवा समान हैसियतमा बसेको देखियो । प्रधानमन्त्री बस्ने कुर्सी छोडेर देउवा चार नेता सरह सोफामा बसेको देखिन्छ ।
बायाँतिरको सोफामा प्रचण्ड, नेपाल र केसी बसेका छन् भने दायाँतिरको सोफामा प्रधानमन्त्री देउवा र यादव आसीन छन् । गठबन्धनका शीर्ष नेताहरू सबै समान रहेको सन्देश दिन प्रधानमन्त्री देउवा सोफामा बसेको उनको सचिवालयले जनाएको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टी (तत्कालीन नेकपा) का आफू समान नेताहरूको अस्तित्व स्वीकार गर्न नसक्दा उत्पन्न परिस्थितिबाट देउवाले पाठ सिकेको देखिन्छ ।
ओलीले तत्कालीन नेकपामा प्रचण्ड र माधव नेपालले आफूहरूको अ’पमान हुने हर्कत देखाएको गुनासो गरेको सुनिन्थ्यो । नेकपामा ओलीले आफू बस्ने ठाउँबाट प्रचण्डको कुर्सी हटाइदिएको विषयले निकै चर्चा पाएको थियो । तत्कालीन नेकपाका अध्यक्ष प्रचण्डले सार्वजनिक रूपमै ओलीले आफ्नो अपमान गर्न सचिवालय सदस्य बस्ने कित्तातिर कुर्सी सारिदिएको बताएका थिए । माधव नेपालले एमाले हुँदै नेकपाबाट फेरि एमालेमा फर्किदा पनि ओलीले आफ्नो मान राख्न नसकेको गुनासो गरेको पाइन्छ ।
यो कुरालाई नजिकबाट नियालेका देउवाले प्रधानमन्त्री बस्ने कुर्सी छोडेर सम्मान भाव सन्देश दिन खोजेको देखिन्छ । संसदमा एक तिहाइ पनि सांसदको उपस्थिति नभएको अवस्थामा प्रचण्ड, माधव, उपेन्द्र र चित्रबहादुरको सहयोगमा देउवा प्रधानमन्त्री बनेका थिए । उनीहरूको साथ र सहयोग बिना सरकार टिक्ने अवस्था नभएकाले पनि देउवाले समानको व्यवहार देखाएको बुझ्न गाह्रो छैन ।स्रोत: रातो पाटि
आफ्नो प्रतिक्रिया दिनुहोस् !