काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जेनेभा भ्रमणका लागि एयरपोर्ट जाने तयारी गरिरहेकी परराष्ट्रमन्त्री बिमला राई पौड्याललाई अकस्मात् रोकेका छन्।
प्रधानमन्त्री दाहालको त्यस किसिमको व्यवहारबाट मन्त्री पौड्यालले अपमानित महसुस गरेकी छन्। विमानस्थल पुगेर भ्रमण रद्द भएको भन्दै फर्किनुभन्दा उनी मन्त्रालयबाट सोझै निवासतिर लागेकी थिइन्। मन्त्री पौड्यालकी प्रेस संयोजक यशोदा अधिकारीले प्रधानमन्त्री दाहालले अचानक मन्त्रीको जेनेभा भ्रमण रद्द गर्न लगाएका हुन्।
‘आइतबार साँझ ६ बजेको उडानका लागि मन्त्रीज्यू एयरपोर्ट पुग्ने कार्यक्रम थियो। उहाँले मन्त्रालयबाट सोझै एयरपोर्ट जाने तयारी गर्नुभएको थियो,’ अधिकारीले भनिन्, ‘विदेश भ्रमणको तयारी भइरहेका बेला अचानक मुख्यसचिव शंकरदास वैरागीले फोन गरेर प्रधानमन्त्रीबाट भ्रमण रद्द गर्न निर्देशन आएको जानकारी गराउनुभयो।’ प्रधानमन्त्रीले जेनेभा भ्रमण किन रद्द गर्न लगाए भन्ने विषयमा मुख्य सचिवले केही नखुलाएको अधिकारीले बताइन्।
पौड्याल नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिन जेनेभा जाने तयारीमा थिइन्। आइतबार बिहान उनले पत्रकार सम्मेलन गरेर आफू जेनेभातर्फ जान लागेको जानकारीसमेत गराएकी थिइन्। मानवअधिकारको क्षेत्रमा नेपालले गरेका उपलब्धिबारे जेनेभा सम्मेलनमा सम्बोधन गर्ने तयारी गरेको उनले बताएकी थिइन्।
जेनेभा भ्रमणपछि दोहाको कतारमा हुन लागेको अति कम विकसित राष्ट्रहरूको सम्मेलनमा भाग लिने पौड्यालको योजना थियो। स्रोतका अनुसार अब उनको दोहा भ्रमण पनि रद्द भएको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !