काठमाडौ । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । तीन दिने नेपाल भ्रमणमा आएका यी ले स्वदेश फर्कनुअघि एमाले अध्यक्ष ओलीलाई भेटेका हुन् । दुई नेताबीच नक्सालस्थित होटल मेरियटमा भेटघाट भएको हो ।
‘भेटमा सहभागी भएका एमाले स्थायी कमिटी सदस्य साजन भट्टराईले ओलीले भेटमा पछिल्लो समयमा खासगरी बिआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ्स) सँग जोडिएर जुन आयोजनाहरू हामीले अघि बढाउन सहमति गरेका छौं, तिनीहरूलाई निरन्तरता दिनुपर्छ । तिनीहरूलाई छिटोभन्दा छिटो सम्पन्न गनुपर्छ भन्ने धारणा राखेको बताए ।
उनले चीनसंग जोडीएका नाका तत्काल खोल्न पनि आग्रह गरेका छन् । कोभिडको कारण देखाउँदै चीनसंगका नाका बन्द भएका छन् । नेपाली विद्यार्थीहरुको विषयमा पनि ओलीले उनसंग कुरा राखेका छन् । कोभिडका कारण नेपाल फर्किएका विद्यार्थी अहिले पनि चीन फर्कन पाएका छैनन् ।
भेटमा द्विपक्षीय विषयका धेरै मुद्दामा छलफल भएको उनले जानकारी दिए । नेपालले फाइदा लिनसक्ने सडक, रेल, सिँचाइ, जलविद्युत उत्पादन, नाका निर्माण, स्वास्थ्य तथा शिक्षाका आयोजना छिटो अघि बढाउनु पर्ने धारणा अध्यक्ष ओलीले राखेका थिए ।
हुम्लाभन्दा पारी चीनमा करिब पाँच सय जना नेपाली अड्किएको बारेमा पनि ओलीले चिनियाँ विदेशमन्त्री समक्ष कुरा राखेका थिए । यसबारे सत्यतथ्य पत्ता लगाएर चीनमा नेपाली अड्किएर बसेको अवस्था हो भने छिटो फर्काउने व्यवस्था मिलाउन उनले अनुरोध गरेका थिए । जवाफमा चिनियाँ विदेशमन्त्री वाङले सहमति छिटो कार्यान्वयन तर्फ लैजाने प्रतिवद्धता दोहोर्याएका छन् । उनले ठूलो र सानो राष्ट्रको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने चीन र नेपालले देखाएको समेत बताए ।











आफ्नो प्रतिक्रिया दिनुहोस् !