कोरोना रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा गरिएको निषेधाज्ञा खुकुलो पारिएसँगै संक्रमण बढ्न थालेको हो । संक्रमण बढ्न थालेपछि अस्पताल भर्ना हुने बिरामीको संख्या पनि बढ्दो छ । अस्पतालमा एकाएक बढेको बिरामीको चापले बेड अभाव हुँदा उपचारमा कठिनाइ हुन थालेको छ । पूर्वी ताप्लेजुङ जिल्लाको ताप्लेजुङ अस्पतालमा बेड अभाव हुँदा भुईमै राखेर उपचार गर्न थालिएको छ ।
दोस्रो लहरको कोरोनाले संक्रमितको संख्या लगातार बढ्न थालेपछि गत वैशाखदेखि सरकारले निषेधाज्ञा लगाएको थियो । पछिल्लो समय संक्रमण घटेको भन्दै पूर्ण र आंशिक रुपमा निषेधाज्ञा खुकुलो बनाइएको छ । निषेधाज्ञा खोलेपछि बढेको भी’डभा’डका कारण संक्रमण फेरि उकालो लाग्न थालेकोमा विज्ञहरुले चिन्ता गरेका छन् । असोजदेखि कोरोनाको तेस्रो लहर शुरु हुने विज्ञहरुको भनाइ छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई कम्तीमा एक हजार दरले अक्सिजनका सिलिण्डर भरेर तयारी व्यवस्थापन गर्न निर्देशन दिएको छ । सङ्क्रमण दर बढ्दै गएकाले तेस्रो लहर आउन सक्ने भन्दै सबै सामाजिक विकास मन्त्रालयलाई एक हजार दरले अक्सिजनका सिलिण्डर तयारी अवस्थामा निर्देशन दिइएको मन्त्रालयको गुणस्तर तथा नियमन महाशाखा प्रमुख डा मदनकुमार उपाध्यायले जानकारी दिए ।
“जनस्वास्थ्यको मापदण्डको पालना र निषेधाज्ञाका बाबजुद पनि कोभिड–१९ को सङ्क्रमण दरमा कमी आएको देखिदैन । विगतका दिनमा जस्तै सङ्क्रमणको दर तीव्र रुपमा बढ्न गई कोभिड–१९ को पुनः अर्को लहर नआउला भन्न सकिदैन”, उनले भने, “भविष्यमा आउन सक्ने सम्भावित चुनौतीलाई सामना गर्न एक हजार वटा अक्सिजनका सिलिण्डर भरी तयारी अवस्थामा प्रदेश आपूर्ति केन्द्रमा मौज्दात राख्न हुन अनुरोध गरिन्छ ।”
मन्त्रालयले आजै प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिमा भएको कार्यक्रममा असोज १५ गतेदेखि सङ्क्रमणको तेस्रो लहर आउन सक्ने जानकारी दिएको हो । साथै मन्त्रालयले सिलिण्डर पनि खाली नराख्न र अक्सिजन प्लान्ट, अक्सिजन ट्याङ्क, अक्सिजन कन्सट्रेटर पनि चालू र चुस्त अवस्थामा राख्न निर्देशन दिएको छ ।
तेस्रो लहर सङ्क्रामक र बालबालिकालाई बढी असर गर्ने उनको भनाइ छ । उनका अनुसार आगामी पाँच महिनामा एक लाख ९३ हजार ८५६ नयाँ सङ्क्रमित थपिने अनुमान गरिएको छ । यसअघि मन्त्रालयले सङ्क्रमणको तेस्रो लहर आउने भन्दै सचेत रहन निर्देशन समेत दिइसकेको छ ।
यसै गरि महाशाखा प्रमुख डा. लोहनीले १२ वर्षमाथि उमेर समूहका बालबालिकालाई समेत लगाउन मिल्ने खोप प्राप्त गर्ने प्रक्रिया अगाडि बढेको जानकारी दिए । उनका अनुसार बालबालिकाका लागि सरकारले करिब ६० लाख फाइजर खोप ल्याइने तयारी गरेको छ । मन्त्रालयका अनुसार कोभिड–१९ को तेस्रो लहरलाई मध्यनजर गरी बच्चाका लागि १८० भेन्टिलेटरसहित २७५ आइसियु शय्या थप्ने प्रक्रियामा छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !