काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई दिइएको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो । सूचना प्रविधि तथा सञ्चारमन्त्री नबनेसम्मका लागि पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको एक मन्त्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सुरुमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी सम्हाल्न प्रस्ताव गरिए पनि उहाँले उक्त प्रस्ताव अस्वीकार गर्नुभएपछि पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
रवि लामिछानेको छलाङै छलाङ
राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछानेले पहिलो अवसरमा नै उपप्रधान तथा गृहमन्त्री पाएर राजनीतिक छलाङ मारेका छन् । त्यसो त उनले राजनीतिक दल खोलेको ६ महिनाभित्रै प्रतिनिधिसभामा २० सिट जितेर चौथो ठूलो दल बन्न सफल भएका थिए ।
त्यो पनि लामिछानेको राजनीतिक छलाङ नै थियो । उनले एकपछि अर्को छलाङ मार्न सफल भएका हुन् । एमाले माओवादीको नयाँ सत्ता गठबन्धनमा सहभागी भएका राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष लामिछानेले जब सोमबार मन्त्रिपरिषद् गठन हुँदा उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारी पाए तब आमसर्वसाधारण चकितजस्तै भए ।
कतिपयले त यसलाई फिल्मसँग नै तुलना गरे । रवि उपप्रधान तथा गृहमन्त्री हुँदा ३ घण्टाको फिल्मको कथा हेरेजस्तै अनुभूति गरे धेरै सर्वसाधारणले । उनी शितलनिवासमा गृहमन्त्रीको शपथ लिएर सिंहदरबारमा जाँदा गृह मन्त्रालयमा छुटै माहोल सिर्जना भएको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !