धनुषामा करेन्ट लागेर मृत्यु भएको भनिएकी महिलाको हत्या भएको खुलेको छ।
विदेह नगरपालिका- ७ स्थित बेलापट्टि बस्ने ३० वर्षीया कविता देवी साहलाई उनकै जेठाजुका छोराले हत्या गरेको प्रारम्भिक अनुसन्धाममा देखिएको प्रहरीले जनाएको छ। हत्या आरोपी २० वर्षीय दिलिप साहलाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको बताएको छ।
सोमबार साँझ पाँच बजे आफ्नै सुत्ने कोठामा करेन्ट लागेर मृत्यु भएको भनेर कविताका घर पक्षले दाबी गरिरहेका थिए। तर उनको शरीरमा गहिरो चोट देखिएपछि प्रहरीलाई शंका लाग्यो। धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदिप क्षेत्रीका अनुसार कविताको अनुहारमा गम्भीर चोट लागेको थियो। रक्ताम्य र अर्धनग्न अवस्थामा उनको शव फेला परेको थियो।
शंकास्पद अवस्थामा भेटिएका दिलिप साहलाई तत्कालै प्रहरीले पक्राउ गरेको थियो। ‘दिलिप साहको हातको बुढी औंला तथा घाँटीको भागमा स-साना चिथोरिएको जस्तो दाग देखियो। उनले भित्री वस्त्रभित्र कविताले प्रयोग गर्ने मोबाइल लुकाएका थिए,’ उनले भने।
दिलिपले घटनाका बखत लगाएको जिन्स पाइन्ट र भेष्टमा रगत लागेको कपडा ब्यागभित्र लुकाई राखेको अवस्थामा समेत फेला परेको डिएसपी क्षेत्रीले बताए। उनलाई धनुषा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दा शीर्षकमा म्याद लिई थप अनुसन्धान भइरहेको उनले बताए।
आफ्नो प्रतिक्रिया दिनुहोस् !