स्याङ्जा, १२ असोज । कालीगण्डकी गाउँपालिका ७ स्थित आँधीदोभानमा राखिएका ८ वटा स्टिमर पुरिएको छ। कालीगण्डकी जल यातायात प्रा.लि. अन्तरगत सञ्चालित ती स्टिमर गएराती झरेको पहिराका कारण पुरिएको अध्यक्ष डोलराज भट्टराइले जानकारी दिए ।
स्टिमर पुरिएको खबर पाएपछि घटनास्थल पुगेको उनले बताएका छन्। उनका अनुसार पुरिएका स्टिमरमा पूर्ण क्षति भएको छ। कोरोना र वर्षात्का कारण स्टिमर सेवा बन्द थिए। आज(भोलीमै स्टिमर सञ्चालन गर्ने भनी सरसफाइ र मर्मतको तयारी पूरा भएको अवस्थामा गएराती झरेको पहिराले स्टिमर पुरेपछि स्टिमर सञ्चालक चिन्तामा परेका छन्।
४ दिनअघि वर्षात् भए पनि २ दिनअघिदेखि चर्को घाम लागेको थियो। गएराती एक्कासी पहिरो झरेर लाखौं मूल्य बराबरको स्टिमर पूर्ण क्षति बनाएको उनको भनाइ छ। कालीगण्डकी ए विद्युत उत्पादनका लागि निर्मित कृत्रिम तालमा स्टिर संचालन गरिंदै आएको थियो। २०६० देखि स्टिमर सेवा सञ्चालन गरिएको हो।
यहाँ साना र ठूला गरी १० वटा स्टिमर सहित २ वटा माउण्ट मकालु नामक पानीजहाज छन्। जलयातायात सेवा स्याङ्जा, पर्वत र गुल्मीमा केही वडाबासीको भरपर्दो, छिटो छरितो र सहज मार्ग हो।
आफ्नो प्रतिक्रिया दिनुहोस् !