काठमाडौं । १७ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देहीमा एक जना पक्राउ परेका छन् । सिद्धार्थनगर नगरपालिका-१ बेलहियाका २४ वर्षीय सचिन थापालाई मंगलबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित निर्माणाधीन होटेलको कम्पाउण्डभित्र किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको समेत प्रहरीले बताएको छ ।
यो पनि हेर्नुस्ः ८ कक्षामा पढ्ने विद्यार्थीको अपहरणपछि हत्या
पर्साको बीरगञ्जमा शिक्षकको योजनामा कक्षा ८ मा पढ्ने विद्यार्थीको अपहरणपछि हत्या भएको छ । पुस १० मा बीरगञ्ज महानगरपालिका–२५ स्थित गुरुकुल पन्ना मेमोरियल इङ्लिस बोर्डिङ स्कुलमा ८ कक्षामा पढ्ने निरज कुमार पासवानको शव भेटिएको थियो ।
१४ वर्षीय पासवानको अपहरणपछि हत्या भएको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दिपक गिरीले रातोपाटीलाई बताए । हत्यामा संलग्न आरोपमा प्रहरीले सो विद्यालयका शिक्षक ३० वर्षीय दिलिप कुमार पटेल र वीरगञ्ज महानगर–१७ अलौ घर भएका श्याम प्रसाद यादव उर्फ कृष्णा लाई पक्राउ गरेको छ ।
पर्साको धोविनी गाउँपालिका घर भएका ३० वर्षीय पटेल सो स्कुलका भाेइस प्र्रिन्सीपल र गणित शिक्षक हुन् । मंसिर ५ मा शिक्षकले बोलाएपछि निरज स्कुलमा गएका थिए । स्कुलमा श्याम प्र्रसाद यादव र अर्का एकजनालाई बोलाएर ३ जना मिलेर बालकको हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
विद्यार्थीको शव पुस १० मा बोर्डिङ स्कुलको पुरानो भवनमा भेटिएको डिएसपी गिरीले जानकारी दिए । हत्यापछि टाढा शव व्यवस्थापन गर्न समस्या भएपछि सेफ्टी ट्यांकीमा हालिदिएको आरोपीहरुले प्रहरीसँग स्विकारेका छन् ।
धोबिनी गाउँपालिका–१० स्थित घोडदौडप्रिया घर भएका शिक्षक दिलिप आउजाउ गर्न टाढा भएको हुनाले स्कुल नजिकै डेरामा बस्थे । आरोपीहरुरुले हातखुट्टा बाँधेर घाँटी थिचेर हत्या गरेको अनुसन्धानबाट थाहा भएको छ । मंसिर १७ मा फिरौति माग गर्दै उनीहरुले ‘पैसा नदिए कान्छो छोरालाई पनि मार्छौं’ भनेर मृतकका धम्कि दिएका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !