एजेन्सी । चिटिक्कको घर । वरिपरि बगैँचा । न इँटा, न ढुंगा र सिमेन्टको प्रयोग । कङ्क्रिटको प्रयोगबिना पनि घर बन्छ त भन्ने प्रश्न उठ्न सक्छ । तर, ललितपुर गोदावरीका भुवन घिमिरेको घरले यसको उत्तर दिन्छ । उनले ९ सय वर्ग फिटको जग्गामा कङ्क्रिटको प्रयोगबिना आकर्षक चार कोठे घर बनाएका छन् ।
घिमिरेले गाउँघरतिर देखेका थिए बाँस र काठको कटेज । उनी पनि त्यस्तै घर बनाउन चाहन्थे । उनले एक दिन सुने, त्यस्तो घर एसवाई प्यानलले बनाउँछ । उनी पछ्याउँदै एसवाई प्यानलमा पुगे । र, उनको सपनालाई साकार पारिदियो एसवाई प्यानलले । ‘इँटा, ढुंगा, सिमेन्टको प्रयोग नगरी एक महिनामै घर तयार भयो’, दंग पर्दै घिमिरे भन्छन्, ‘खर्च पनि कम, बस्न पनि आनन्द ।’
घिमिरेले मात्र होइन, हिजोआज हिमाल, पहाड र तराईका विभिन्न ठाउँमा कङ्क्रिटको प्रयोगबिना ‘प्रि–फ्याब घर’ बनाउननेहरूको संख्या बढ्दो छ । ०७२ सालको विनाशकारी भूकम्पले धेरै भौतिक संरचना ध्वस्त भए । भूकम्पले कङ्क्रिटका घरहरू ढलेपछि अधिकांशको एउटै प्रश्न हुन्थ्यो, अब सुरक्षित घर कसरी बनाउने त ?
‘कम लागतमा भूकम्प प्रतिरोधात्मक घर बनाउन छलफल गरिरहेका थियौँ’, एसवाई प्यानलका प्रमुख प्राविधिक व्यवस्थापक शशि साह भन्छन्, ‘कोरियनहरूले नेपालमा प्रि–फ्याब घर उपयुक्त हुन्छ भन्ने सुझाव दिएपछि एसवाई प्यानलको स्थापना गरेर घर बनाउन थालेका हौँ ।’
भूकम्पकै कारण हो प्यानलले नेपालमा विभिन्न डिजाइनका आधुनिक घरहरू बनाउन सुरु गरेको । तर, विदेशी मुलुकहरूमा भने पहिलेदेखि नै यस्तो घर बनाउन थालिएको थियो । ‘मानिसहरूले प्रि–फ्याब घर मन पराउनुभयो’, उनी भन्छन्, ‘अहिले हिमाल, पहाड, तराईमा यस्तो घर बनाउन थालिएको छ ।’
‘यस्ताे घरमा सजिलै आगो नलाग्ने र आगो लागिहाले पनि पूर्ण रूपमा क्षति गर्दैन,’ उनी भन्छन्, ‘आगो निभाउने यन्त्रको प्रयोग गरिएको हुन्छ । घरको भित्ता फोर्न नसकिने भएकाले चोरीको सम्भावना पनि हुँदैन । काटेर मात्र भित्र छिर्न सकिन्छ ।’
कोरियन घरको अर्काे विशेषता भनेको एक ठाउँमा निर्माण गरिएको घरलाई अर्काे ठाँउमा जडान पनि गर्न सकिने उनी बताउँछन् । प्रि–फ्याब घरको भित्ता, छानो, स्ल्याब, कारखानामै तयार गरिन्छ । कारखानामा तयार गरिएको सामग्रीलाई ग्राहकको रोजाइअनुसार जडान गरी घर तयार गरिन्छ । घरमा प्रयोग गरिने सामग्रीहरू कोरियाबाटै ल्याइने साह बताउँछन् ।
‘प्रि–फ्याब पनि कङ्क्रिट बेस र स्यान्डविच बेसको हुन्छ,’ साह भन्छन्, ‘प्रि–फ्याबहरू कोरियाबाटै तयार भएर आउँछ । यहाँ ग्राहकको इच्छाअनुसार जडान गर्ने मात्र हो । एसवाई प्यानलले पफ र स्यान्डविच बेस प्रयोग गरिरहेको छ ।’
उनका अनुसार प्यानलको दुईतिर जस्तापाता र बीचमा प्यानलको प्रकारअनुसार सामग्रीको प्रयोग गरिएको हुन्छ । झ्याल भने आल्मुनियम वा यूपीभीसीको प्रयोग गरिएको हुन्छ । उनका अनुसार निम्न वर्गको परिवारले पनि कोरियन घर बनाउन सक्छन् ।
‘१० लाखमा २–३ कोठे घर बन्छ,’ साह भन्छन्, ‘३ लाखदेखि ३० लाखसम्मको घर बनाउँदै आइरहेका छौँ । कस्तो डिजाइनमा, कुन सामग्री प्रयोग गरेर घर बनाउने हो, ग्राहकको चाहनाअनुसार मूल्य निर्धारण हुन्छ ।’
नेपालमा कति ठाउँमा अझै बाटो पुगेको छैन । बाटो नपुगेको ठाउँमा यस्तो घर आवश्यक रहेको दाबी गर्छन्, साह । ‘बाटो नपुगेको स्थान र हिमाली भेगमा घर बनाउँदा ३० देखि ४० प्रतिशत सस्तो हुन्छ,’ उनी भन्छन्, ‘काठमाडौं र तराईको तुलनामा २० देखि २५ प्रतिशत सस्तो पर्छ । एसवाई प्यानलका सामाग्रीहरू कम तौलका भएकाले हिमाली भेगमा उपयुक्त हुन्छ ।’
एसवाई प्यानलको घरको जग पनि परम्परागत रूपमै जस्तो गरी बनाइन्छ । तर माटो, इँटा, ढुंगा, सिमेन्टको प्रयोग गरेर बनाइएजसरी धेरै जग खन्नु पर्दैन । थोरै जग खनेर प्यानल जडान गरिन्छ ।
प्रि–फ्याब घर १५–२० दिनमै तयार पार्न सकिने बताउँछन् साह । ‘ढुङ्गा, माटो, इँटा, सिमेन्टको घर बनाउन धेरै समय लाग्छ,’ उनी भन्छन्, ‘बाढी, पहिरो आएको समयमा प्रि–फ्याब घर एक महिनामै बनाएर पुनर्वास गराउन सकिन्छ ।’
एसवाई प्यानलले घर मात्र होइन, स्कुल, कलेज, रिसोर्ट, फार्म हाउस, गोदाम, अफिस भवन, च्याउ उत्पादन गर्ने चिस्यान केन्द्रहरू, अन्य प्रकारका चिस्यान केन्द्रजस्ता विभिन्न संरचनाहरू पनि निर्माण गर्ने गरेको छ । ‘ग्राहकको मागअनुसार निर्माण गर्दै आएका छौँ’, साह भन्छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !