योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हालसम्म साढे १५ हजारभन्दा बढी वैदेशिक रोजगारीमा जान लागेका र गएका श्रमिक सूचीकरण भएका छन् । सरकारले चैत ८ देखि वैदेशिक रोजगारी रहेका र स्वरोजगारमा संलग्न नेपालीलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सामेल गर्न सुरु गरेको थियो ।
त्यसअनुसार चैत १४ सम्ममा १५ हजार ६ सय ८५ जना श्रमिक यो योजनामा सूचीकृत भएको कोषका कार्यकारी सहप्रवक्ता रोहित रेग्मीले बताए । “अष्ट्रेलिया तथा खाडी देशमा कार्यरत नेपालीले योजनामा सामेल हुन चासो देखाएका छन,” रेग्मीले कारोबारसँग भने, “कतिपय देशबाट अनलाइन सूचीकरण आवेदन दिनका लागि प्राविधिक समस्या देखिएकोले कोषको टोलीले काम गरिरहेको छ । कतिपय देशबाट अनलाइन आवदेन दिन खोज्दा साइट खुल्न नसकेको गुनासो आएको छ ।
हालसम्म सूचीकरण भएका मध्ये अधिकांश वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिन आवेदन दिएका श्रमिक छन् ।”
सरकारले औपचारिक क्षेत्रका श्रमिकमात्रै योजनामा समावेश गर्दै आएकोमा चैत पहिलो साताबाट वैदेशिक रोजगारीमा रहेका सबै श्रमिकलाई योजनामा सामेल गराउन सुरु गरेको थियो । लामो समयको तयारीपछि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा सूचीकरण गर्न सफल भएको कोषले जनाएको छ ।
वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका र विदेशमा रहेका श्रमिक श्रमस्वीकृति लिने बेला र श्रमस्वीकृति नवीकरण गर्ने बेलामा योजनामा समावेश हुन सक्छन् । यसैगरी नवीकरण गर्ने बेला नभएकाहरु पनि वैदेशिक रोजगार विभाग र सामाजिक सुरक्षा कोषको सहकार्यमा तयार गरिएको अनलाइन प्रणालीमार्पmत सूचीकृत हुन सक्ने गरी व्यवस्था गरिएको छ । योजनामा समावेश हुने श्रमिकले मासिक २ हजार २ रुपैयाँ बुझाउनु पर्नेछ । रकम एकमुष्ट बुझाए जम्मा गरेको रकममा १० प्रतिशत छुट पाइने कोषले जनाएको छ । यो रकम खल्ती, इसेवा र कनेक्ट आईपीएस मार्फत पनि जम्मा गर्ने व्यवस्था मिलाइएको छ ।
कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले वैदेशिक रोजगारीमा रहेका २२ लाख श्रमिकलाई कोषमा समेट्ने तयारीसहित योजना सुरु गरिएको बताए । कोषले अनौपचारिक र स्वरोजगार, सरकारी अस्थायी तथा करारमा रहेका श्रमिक र निजी तथा संगठित क्षेत्रका श्रमिक समेट्ने योजना रहेको जनाएको छ ।
योजनामा आवद्ध भएपछि वैदेशिक रोजगारीमा रहेका श्रमिकले दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा सुविधा पाउनेछन् । सरकारले औद्योगिक क्षेत्रका श्रमिकका लागि तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको कम्तीमा २१.३३ प्रतिशत योगदान गर्ने गरी योजनाको घोषणा गरेको छ । यस्तो योगदान रकम कोषले दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा ७.४८ प्रतिशत र वृद्धावस्था सुरक्षा योजनामा १३.८५ प्रतिशत छुट्याएको छ ।
योगदानकर्ताले निवृत्तिभरण योजनामा जम्मा भएको रकम र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कुल योगदान रकम एकमुष्ठ लिने वा सो रकमलाई १ सय ६० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना जीवनकालभर निवृत्तिभरण लिने रोज्न पाउनेछन् । यसका साथै योगदानकर्ता दुर्घटनामा परेर अस्पताल भर्ना भए १ लाख रुपैयाँसम्म उपचार खर्च पाउँछन् । कोषले उपचारको ८० प्रतिशत वा प्रतिवर्ष १ लाख रुपैयाँ पाउने जनाएको छ ।
विदेशमा रहेका श्रमिक आवद्ध भएपछि योगदानकर्ताको मृत्यु भएमा निजको पति वा पत्नीले निवृत्तिभरण, सन्ततिलाई शैक्षिक वृत्ति र अन्तिम संस्कार खर्च पाउनेछन् । जुनसुकै कारणबाट मृत्यु भए पनि न्यूनतम आधारभूत पारिश्रमिकको ४० प्रतिशतका दरले जीवनभर निवृत्तिभरण पाउने जनाइएको छ । वैदेशिक रोजगारी अन्त्य भएपछि एकमुष्ठ समेत रकम लिने वा निवृत्तभरण योजनामा रोज्ने विकल्प हुने जनाइएको छ ।
वैदेशिक रोजगारीमा रहेका वा जाने तयारीमा रहेकाले न्यूनतम २ हजारदेखि अधिकतम २८ हजार रुपैयाँसम्म कोषमा योगदान गर्न सक्नेछन् । यसरी योगदान गर्नेलाई १ लाख रुपैयाँसम्मको वार्षिक दुर्घटना उपचार खर्च, ५ हजार ६ सय ३१ रुपैयाँसम्म अशक्तता पेन्सन, आश्रित परिवारलाई ३ हजार ७ सय ५४ रुपैयाँसम्म आजीवन पेन्सन र २१ वर्षसम्म सन्ततिलाई ३ हजार ७ सय ५४ रुपैयाँसम्मको शैक्षिक वृत्तिवापत रकम पाउनेछन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !