कार्तिक १३, काठमाडौं । काठमाडौंको सिनामंगलबाट सुनसहित पाँच जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–९ सिनामंगल शम्भुमार्गबाट पाँच जनालाई आइतबार पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।
पक्राउ पर्नेमा भोजपुरका २४ वर्षीय अमृतधन राई, सुनसरीका ४४ वर्षीय नजिर मन्सुर, धनुषाका ४९ वर्षीय कारी इसार केबट, खोटाङका २८ वर्षीय अर्जुन भट्टराई र गोरखाका ३० वर्षीय अनिष थापा छन् ।
कतारको उडानबाट काठमाडौं आइपुगेका चार जनाले भन्सार छलेर सुन भित्र्याएको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरूबाट २६ लाख ५१ हजार ८९५ बराबरको २१४।३६ ग्रामको सुन र ५०।०१ ग्रामको तीन वटा सिक्री बरामद गरेको छ।
भन्सार ऐन, २०६४ अन्तर्गत थप अनुसन्धानका लागि उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !