काठमाडौँ– झरना थापा सधैँजसो बिहीबार बिहान साढे ५ बजे उठिन्। त्यसपछि मोबाइलमा आएका नोटिफिकेशन हेर्न थालिन्। उनले युट्युबमा आफ्नाे चलचित्रको भिडियो हेर्न खोजिन्।
तर, अपलोड भएदेखि सधैँ बिहान हेर्दा देखिने भिडियो बिहीबार भने देखिएन। उनलाई अचम्म लाग्यो। आफ्नो डिभाइसमा समस्या आएको हो कि भनेर घरमा भएका अरु डिभाइसबाट पनि चेक गरिन्। तर, भिडियो देखिएन। भिडियो अपलोड भएको च्यालन खोलिन् त्यो पनि देखिएन।
झरना र सुनिल थापाले पक्का हुन आफू निकट केही व्यक्तिहरुलाई पनि भिडियो खोजेर हेर्न लगाए। तर, सबैले नभेटेपछि बुढासुब्बा डिजिटल च्यानल प्राइभेट लिमिटेडमा सम्पर्क गरे। थापा परिवारको सम्पर्कले च्यानलका मालिक अचम्ममा परे। हेर्दा थाहा भयो, च्यानल त ह्याक भएको रहेछ।
झरनाले निर्देशन गरेको चलचित्र प्रदर्शनको संघारमा छ। २०७९ सालको बैशाख १ गते झरना थापाको होम प्रडक्सनमा बनेको चलचित्र ‘ए मेरो हजुर ४’ प्रदर्शनमा आउँदै छ। चलचित्र प्रदर्शनको तयारी अन्तिम समयमा पुग्दा प्रचार सामग्री अपलोड गरिएको बुढासुब्बा डिजिटलको च्यानल नै ह्याक भएपछि चलचित्र निर्माता निर्देशक अत्तालिए।
‘अहिले हामी आत्तिएका छैनौं, प्राविधिक गडबढी कहिलेकाहीँ हुन्छ। मान्छेको आँखा लागेको भन्नु कि के भन्नु अब’, कुराकानीमा झरनाले भनिन्, ‘राम्रो हुन्छ भन्ने आशा गरौं, खुल्दैछ। अरु पनि खुल्ला!’
नेपाली चलचित्र क्षेत्रमा लामो समय नायिका भई अभिनय क्षेत्रबाट निर्माण पक्षमा होमिएकी झरनाले अहिलेसम्म धेरै चुनौती भोगिसकेकी छन्। उनकै निर्देशनमा बनेको यो तेस्रो चलचित्र हो। चलचित्र बनाउँदाभन्दा प्रदर्शनको समयमा धेरै कष्ट हुने गरेको उनको अनुभव छ। तर आज जे भयो, त्यस्ता खालको समस्याको सामना उनले पहिला गर्नुपरेको थिएन।
‘हामी एकछिन त धेरै तनावमा पर्यौँ’, उनले भनिन्, ‘नेपाली चलचित्र क्षेत्रमा लागेदेखि नै अरु किसिमका समस्या त भोगी नै रहेका हौँ, चलचित्र प्रदर्शनको अन्तिम समयसम्म पनि केही न केही समस्या आइरहन्थ्यो। यो हामी सबै नेपाली निर्माता, निर्देशकको समस्या हो।’ उनले थपिन्, ‘यसरी युट्युब च्यानल नै ह्याक हुने समस्या पहिलोपल्ट थाहा पाएँ।’











आफ्नो प्रतिक्रिया दिनुहोस् !