काठमाडौँ- काठमाडौँको टोखा नगरपालिका–३ ग्राण्डी पछाडिको सडकमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । बागमती प्रदेश ०२ ०२९ प १०९८ नम्बरको स्कुटर र बा ९६ प २४४५ नम्बरको मोटरसाइकल आज बिहान ११ बजे ठोक्किएका थिए ।
दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी स्कुटर चालक काठमाडौँको तारकेश्वर नगरपालिका–९ बस्ने १९ वर्षीय रोजिना महर्जनको उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालक टोखा नगरपालिका ३ का २८ वर्षीय समीर श्रेष्ठको सोही अस्पतालमै उपचार भइरहेको छ ।
यो पनिः बसबाट ओर्लिदैं गरेका यात्रुको लडेर मृत्यु
जनकपुरधाम । सर्लाहीमा बसबाट ओर्लदैं गरेका एक यात्रुको सर्ट ढोकामा अल्झिएर भुइँमा लड्दा मृत्यु भएको छ । मृत्यु हुनेमा कोडैना गाउँपालिका ३ बस्ने ३५ वर्षीय चन्दन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिए ।
डीएसपी यादवका अनुसार सुदामाबाट मलंगवातर्फ जाँदै गरेको ग.१ख ९४५२ नम्बरको बसबाट मलंगवा-२ स्थित झण्डाबजारमा ओर्लिरहेका चौधरीको सर्ट बसेको ढोकामा अल्झिँदा उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि प्रादेशिक अस्पताल मलगंवा पुर्याएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै सोही बसमा सवार एक महिला सिटको फलामको डण्डीमा ठोक्किँदा घाइते भएकी छन् । गोडैता नगरपालिका ५ बस्ने ६५ वर्षीया इश्वरवत्ती देवी बसको सिटको फलामको डण्डीमा ठोक्किँदा बायाँ हातको कुमको हड्डी भाँचिएको छ भने खुट्टामा चोट लागेको डीएसपी यादवले बताए ।
बस कोडैना गाउँपालिका-२ लखनदही खोलाको पुल नजिकैको खाल्डो पार गर्ने क्रममा यो घट्ना भएको तथा घाइतेको प्रादेशिक अस्पताल मलगंवामा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसलाई नियन्त्रणमा लिएको तथा फरार भएका चालकको खोजी भइरहेको प्रहरीले जनाको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !