बुटवल, १६ पौष । बुटवलको अस्पताल लाईनमा बलेरो पिकअप जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग १ ज ६३६७ नम्बरको बलेरो पिकअप जिप शुक्रबार राति दुर्घटना हुँदा प्युठानको गौमुखी गाउँपालिका वडा नं १ का २८ वर्षिय रोशन गिरीको मृत्यु भएको हो । उक्त जिप अनियन्त्रीत भई पल्टिदा भएको दुर्घटनामा परि सोही स्थानका २९ वर्षिय सुरेश तामाङ र मिन बहादुर तामाङ घाईते भएका छन् । घाईते मध्ये सुरेश तामाङको अवस्था गम्भीर रहेको छ ।
जमुनाह नाकामा कडाइ
कोरोना सङ्क्रमण फैलिन नदिन नेपालगञ्जस्थित जमुनाहा नाकामा परीक्षणमा कडाइ गरिएको छ । भारतबाट नेपाल आउँदै गरेकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगञ्जस्थित नाकामा सतर्कता अपनाउन थालिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा संयोजक रामबहादुर चन्दले जानकारी दिए ।
कोरोना संक्रमण कम भएपछि गत असोज १ गतेदेखि यो नाकामा जाँच रोकिएको थियो । छिमेकी देश भारत र चीनमा कोरोना संक्रमण देखिन थालेपछि नाकामा फेरि कडाइ सुरु गरिएको चन्दले बताए । अहिले नेपालगञ्ज नाकामा पनि स्वास्थ्य सावधानीसँगै भारतबाट नेपाल फर्किनेको अनिवार्य कोरोना परीक्षण गर्न सुरु गरिएको छ ।
भारतको सिमलाबाट नेपाल फर्किंदै गरेकी जाजरकोटकी ३० वर्षीया महिलालाई परीक्षणको क्रममा शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको जमुनाह हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले जानकारी दिए । उनका अनुसार भारतबाट आउने ५५ जनाको जाँच गर्ने क्रममा जाजरकोटकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालगञ्जस्थित जमुनाह नाकामा बिहीबारदेखि कोरोना जाँच सुरु गरिएको छ । रासस
आफ्नो प्रतिक्रिया दिनुहोस् !